पाँचथरमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ।
पद्मसुन्दर लावती प्रतिष्ठानले उक्त शिविर गरेको हो।
कुम्मायक आधारभूत अस्पताल यासोकमा आयोजित दुई दिने शिविर मंगलबार सकिएको हो।
शिविरमा स्त्रीरोगसम्बन्धी सेवा उपलब्ध भएको थियो।
पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा स्तन क्यान्सरको परीक्षण, रोकथाम तथा उपचारसम्बन्धी सेवा शिविरमा उपलब्ध थियो।
शिविरमा ३३४ जना महिलाले स्वास्थ्य सेवा र परामर्श लिएका थिए।
साथै २४ जना महिलामा पाठेघरको मुखमा क्यान्सर हुनसक्ने लक्षण देखिएको थियो। यस अवस्थामा क्यान्सर संक्रमणको पूर्वअवस्थाको उपचार गरेर रोकथामको उपाय गरिएको थियो।
४२ जना महिलामा पहिलो र दोस्रो चरणको आङ खस्ने समस्या देखियो भने ४ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको थियो।
यसैगरी ५५ जना सेवाग्राहीमा विभिन्न किसीमका संक्रमण देखा परेको थियो।
‘शिविरको नतिजाबाट महिला स्वास्थ्यका हकमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ, जसमा नियमित जाँच परीक्षण र उपचार लगायत स्त्रीरोग लक्षित सेवा आवश्यक छन्। स्थानीय सरकारको रूपमा कुम्मायक गाउँपालिकाले विशेष ध्यान दिएर महिलाहरूको हितमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न जरूरी देखिन्छ,’ शिविर आयोजक संस्था पद्मसन्दर लावती प्रतिष्ठानका सल्लाहकार सगुन सुन्दर लावतीले भने।
स्वास्थ्य शिविरका लागि काठमाडौंबाट गएको टोलीमा डा. परमेश्वरी श्रेष्ठ, कार्यक्रम संयोजक अमला देवी मानन्धर, रुपा कर्माचार्य र पुष्पा कर्माचार्य सहभागी थिए।
शिविर व्यवस्थापनमा कुम्मायक गाउँपालिकाको भूमिका थियो भने रोटरी क्लब अफ काष्ठमाण्डप, काठमाडौं, एन एन सी टी आर नेपाल, बनेपा र नेपलीज डक्टर्स एसोसिएसन, यूकेले शिविर आयोजनामा सहयोग गरेका थिए।
कुम्मायक आधारभूत अस्पताल यासोकका प्रमुख डा. एरिक बाँस्कोटाले शिविर उपलब्धिमूलक रहेको बताए। पद्मसन्दर लावती प्रतिष्ठानका अध्यक्ष विजयवोध लावतीले स्व. पद्मसुन्दर लावतीको पदचिन्हमा यस्तै प्रकारका सामाजिक सेवा गर्दै जाने बताएका थिए।