नेपालको दीर्घकालीन विकास, नीतिगत सुधार, आर्थिक सम्भावना तथा भविष्यका अवसर र चुनौतीमाथि गहन बहस गर्ने उद्देश्यसहित ‘नेपाल फ्युचर फोरम २०२६’ आयोजना हुने भएको छ।
नेपाल फ्युचर फोरमद्वारा आयोजित पहिलो वार्षिक सम्मेलन आगामी शुक्रबार, जुन १९ मा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको द ब्लु प्याभिलियनमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रम भौतिक उपस्थितिका साथै अनलाइन लाइभस्ट्रिममार्फत पनि सार्वजनिक रूपमा प्रसारण गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य फोरमका संयोजक अब्दुस मियाले गर्नेछन्।
उद्घाटनपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा. प्रकाश श्रेष्ठ ले 'नेपालको आर्थिक सम्भावना: सन् २०३५ सम्मको समृद्धिको दृष्टिकोण' विषयमा प्रमुख मन्तव्य प्रस्तुत गर्नेछन्।
उनले लगानी, व्यापार, जलविद्युत, उद्यमशीलता र नवप्रवर्तनका माध्यमबाट नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्।
कार्यक्रमको समापन फोरमका मेनाल्ड लामिछानेले दिनभरिका छलफलको सार प्रस्तुत गर्दै नेपाल फ्युचर फोरमको भावी दिशा र योजनाबारे जानकारी गराउनेछन्।
आयोजकका अनुसार सम्मेलनले नीति निर्माता, अर्थविद्, प्रविधिविज्ञ, राजनीतिक नेतृत्व, व्यवसायी, युवा अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर नेपालको भविष्यबारे सार्थक र परिणाममुखी संवादको वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ।
नेपाल फ्युचर फोरमले यो सम्मेलनलाई नेपालको आर्थिक, प्राविधिक, राजनीतिक र सामाजिक रूपान्तरणका लागि आवश्यक दीर्घकालीन सोच, नीतिगत बहस र सहकार्यलाई थप गति दिने महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।