अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इ-पासपोर्ट खरिद प्रकरणमा दुईवटा जर्मन कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन बोलाएको छ।
अख्तियारले बुधबार 'द राइजिङ नेपाल' मा सार्वजनिक सूचना जारी गर्दै दुई जर्मन कम्पनीलाई तोकिएको समयमा भौतिक वा भर्चुअल माध्यमबाट उपस्थित हुन भनेको हो।
सूचनामा इ-पासपोर्ट छपाइ ठेक्का पाएका दुई जर्मन कम्पनी म्युल्बाउअर आइडी सर्भिसेस र भेरोडास कम्पनीका दुई-दुई जना प्रतिनिधिलाई उपस्थित हुन भनिएको छ।
अख्तियारले सूचना निकालेर उपस्थित हुन भनेकामा म्युल्बाउअर आइडी सर्भिसेसका गेरहार्द माउरेर र पाभ्ली राकिक छन् भने भेरोडोस कम्पनीका फाबियोला बेलरशेइम र फ्लोरियन पाकक्वेलिन छन्।
उनीहरूलाई इमेलमार्फत अख्तियारमा उपस्थित हुने समयबारे जानकारी गराइएको सूचनामा उल्लेख छ।
उक्त सूचनाको बेवास्ता गरिए नेपालको कानुन बमोजिम प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
खरिद प्रक्रियामा प्याकेज १ अन्तर्गत म्युल्बाउअर आइडी सर्भिसेसले पासपोर्टको प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमनेट सिस्टमको ठेक्का पाएको थियो।
प्याकेज २ मा भेरोडोसले पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टमको ठेक्का पाएको थियो।

अख्तियारले इ-पासपोर्ट प्रकरणको अनुसन्धानका लागि असार २ गते राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको थियो। विभागकै सूचना प्रविधिका निर्देशक सुनिलकुमार केसीलाई पनि नियन्त्रणमा लिएको थियो।
अख्तियारले नियन्त्रणमा लिएको दिन अर्याल प्रधानमन्त्री कार्यालय गएका थिए। त्यसलगत्तै उनी पक्राउ परेका हुन्।
यो इ-पासपोर्टको छानबिन प्रकरणमा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा समेत मुछिएकी छन्। अख्तियारको अनुसन्धान टोलीले मंलबार बुढानीलकण्ठस्थित भत्काउँदै गरेको निवासमा पुगेर बयानका लागि हाजिर हुन आउनु भनेर म्याद तामेली समेत गरेको छ।
गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा उक्त निवास आगजनी भएको थियो। अहिले उक्त निवास भत्काउने काम चलिरहेको छ।
देउवा दम्पती अहिले स्वदेशमा छैनन्। स्वदेश भएका बेला पनि जेनजी आन्दोलनपछि बुढानीलकण्ठस्थित निवासमा बसेका थिएनन्, महाराजगन्जमा घर भाडामा लिएर बसेका थिए।
अख्तियारको टोलीले आफूलाई सम्पर्क गरेर इ-पासपोर्टका लागि म्याद तामेल गरेको बुढानीलकण्ठ नगरपालिका-२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
'अख्तियार टोलीले आरजु राणा देउवामाथि अनुसन्धानका लागि म्याद तामेल गर्नुपरेकाले सम्पर्क गरेको थियो। मैले भानु देउवासँग सम्पर्क गराइदिएको हो,' उनले भने।
भानु पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका स्वकीय सचिव हुन्।
हामीले यसबारे भानु देउवासँग पनि बुझेका छौं।
उनले पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाबारे म्याद तामेलीका सन्दर्भमा आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए।
देउवा दम्पती हाल हङकङमा छन्। उनीहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ। विभागले आफूहरूलाई पक्राउ गरी धरपकड गर्नेसक्ने भएकाले उनीहरूले केही दिनअघि इमेल र पार्सलमार्फत अनुसन्धानमा सहयोग गर्ने बताएका थिए। यसको बोधार्थ विशेष अदालतलाई समेत दिइएको थियो।
विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरूद्ध पक्राउ पुर्जी समेत लिइसकेको थियो। रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई समेत पत्राचार गरेको थियो।
त्यसैविरूद्ध देउवा दम्पती वारेसमार्फत सर्वोच्च पुगेको थियो। सर्वोच्चले विशेष अदालतको क्षेत्राधिकारमा पर्ने मुद्दाको लागि जिल्ला अदालत काठमाडौंबाट लिएको पक्राउ पुर्जी खारेज गरेको थियो।