अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवा प्राप्त गरेको आरोपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कार्यालय सहयोगी विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
प्रतिष्ठानका कार्यालय सहयोगी रामकुमार बोहराविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बोहराले माध्यमिक शिक्षा परीक्षा (एसएलसी) अन्तर्गत बालाजुस्थित सेन्टअप कक्षा–१० को मार्कसिट र ट्रान्सफर सर्टिफिकेट सहित नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
प्रवक्ता अनुसार रामकुमारले २०६९ साल मंसिर १ गतेदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा रङ्गमञ्च सहायक (स्थायी) तृतीय श्रेणीको राजपत्र अनंकित पदमा नियुक्ति पाएका थिए। सो क्रममा उनले झूटा शैक्षिक विवरण पेस गरी सेवा, सुविधा तथा ओहदा समेत प्राप्त गरेका छन्।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको ठहर गर्दै कैद र जरिवानाको मागसहित मुद्दा दायर गरिएको अख्तियारले बताएको छ।