बाँकेमा एक युवतीको हत्या प्रकरणमा अनौठो तथ्य सार्वजनिक भएको छ।
प्रहरीले गरेको अनुसन्धानले २६ वर्षीय अजय माउतले आफ्नी पूर्वप्रेमिका अवसना बानुको हत्या गरी आफूविरूद्ध अपहरण तथा जबर्जस्ती करणी उद्योगको मुद्दा हाल्न भूमिका खेलेका व्यक्तिहरूलाई फसाउने षड्यन्त्र रचेको खुलाएको छ।
प्रहरीका अनुसार बैजनाथ गाउँपालिका–५ हिरमनियाका अजय माउत एकै समयमा गाउँकै दुई युवतीसँग प्रेम सम्बन्धमा थिए। उनले दुवैलाई झुक्क्याएर प्रेम सम्बन्धमा बाँधेका थिए। तीमध्ये एक १७ वर्षीया किशोरीलाई उनले २०८२ असोज १५ गते भगाएर लगेका थिए। केही समयपछि परिवारले किशोरीलाई फेला पारेर घर फर्कायो।
उमेर नपुगेकी किशोरीलाई भगाएर लगिएको घटनापछि उनका परिवारले २०८२ मंसिर २८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा अजयविरूद्ध ‘अपहरण तथा शरीर बन्धक’ र ‘जबरजस्ती करणी उद्योग’ सम्बन्धी किटानी जाहेरी दिएका थिए। त्यसपछि अजय फरार सूचीमा परेका थिए।
प्रहरीका अनुसार आफूविरूद्ध मुद्दा परेको घटनापछि अजयको मनमा बदला लिने भावना पलाएको थियो। किशोरी आफ्नै इच्छाले आफूसँग गएको भए पनि परिवारले झूटा मुद्दा हालेर फसाउन खोजेको निष्कर्षमा पुगेका उनले किशोरीका दाजुसहित केही व्यक्तिलाई गम्भीर अपराधमा फसाउने योजना बनाउन थाले।
यही क्रममा उनकी अर्की प्रेमिका २० वर्षीया अवसना बानुले अजयले आफूलाई धोका दिएर अर्की किशोरीसँग भागेको थाहा पाएपछि सम्बन्ध तोडेकी थिइन्। पछि उनले कैलालीमा विवाह समेत गरिन्।
तर फरार अवस्थामा रहेका अजय टाढा भागेका थिएनन्। प्रहरीका अनुसार उनी कोहलपुरमै लुकीछिपी कोठा भाडामा लिएर बसिरहेका थिए। बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार अजयले राति विभिन्न जिल्लामा पहिचान लुकाएर नाइट बससमेत चलाउने गरेका थिए।
यसैबीच अजयले सामाजिक सञ्जालमार्फत फेरि अवसनासँग सम्पर्क बढाए। प्रेम र विश्वासको कुरा गर्दै उनले अवसनाको मन जित्न सफल भए। तर त्यसको पछाडि गम्भीर आपराधिक योजना लुकेको थियो।
प्रहरीका अनुसार अजयले आफूविरूद्ध मुद्दा हाल्न भूमिका खेलेका किशोरीका दाजु र उनका एक साथीलाई हत्या अभियोगमा फसाउने योजना बनाइसकेका थिए। त्यसका लागि उनले ती व्यक्तिहरूका फेसबुकबाट तस्बिर निकालेर छपाई समेत गरेका थिए।
अजयको बोलावटमा अवसना जेठ २३ गते कैलालीबाट बाँके आएकी थिइन्। परिवारलाई माइती जाने जानकारी दिएर हिँडेकी उनी माइती घर भने पुगिनन्। अजयले उनलाई कोहलपुरस्थित आफ्नो कोठामा राखेका थिए।
अवसना सम्पर्कविहीन भएपछि जेठ २५ गते उनका परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिए। त्यसअघि अवसनाले आफन्तलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी दिएकी थिइन्। उनले आफूलाई अपहरण गर्ने व्यक्तिका रूपमा अजयले तयार पारेका तस्बिरहरू समेत पठाएकी थिइन्। तीमध्ये एक किशोरी र उनका दाजुको नामसमेत उल्लेख गरिएको थियो।
यस आधारमा प्रहरीले जेठ २५ गते अपहरणमा संलग्न भनिएका तीन जनालाई नियन्त्रणमा लिए पनि अनुसन्धानपछि उनीहरूलाई निर्दोष ठहर गर्दै छाडेको थियो।
यसैबीच प्रहरीले अवसनाले प्रयोग गरेको फोन नम्बरको कल डिटेल रेकर्ड (सिडिआर) विश्लेषण गर्यो। त्यस क्रममा अर्को नयाँ नम्बरसँग बारम्बार सम्पर्क भएको तथ्य फेला पर्यो। जेठ २६ गते उक्त नम्बरमा सम्पर्क गर्दा ती व्यक्तिले आफूलाई अजय माउतले फोन गरेको बताएका थिए।
त्यसपछि प्रहरीले प्राविधिक विश्लेषण र लोकेसन ट्र्याकिङमार्फत जेठ २६ गते साँझ अजयलाई पक्राउ गर्यो। अनुसन्धानका क्रममा उनी फरार अभियुक्त रहेको र उनीविरूद्ध पुरानै अपहरण तथा जबर्जस्ती करणी उद्योग सम्बन्धी मुद्दा रहेको पुष्टि भयो।
अजय पक्राउ परेको दुई दिनपछि, जेठ २८ गते दिउँसो बाँकेको चिसापानीस्थित सामुदायिक वनमा एक युवतीको शव फेला पर्यो। रूखको फेदमा पछाडिबाट दोपट्टाले हात बाँधिएको अवस्थामा शव भेटिएको थियो।
एसपी अंगुर जिसीका अनुसार घटनास्थलको प्रकृति हेर्दै गर्दा यो आत्महत्या नभई हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो। घटनास्थलमा भेटिएको पर्सभित्र अजयले पहिले छपाइ गरेर राखेका ती व्यक्तिहरूकै पासपोर्ट साइजका तस्बिरहरू फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानबाटै मृतक अवसना बानु रहेको पुष्टि भएको थियो। त्यसपछि प्रहरीले अजयमाथि थप शंका गर्दै गहन सोधपुछ सुरू गर्यो।
एसपी जिसीका अनुसार सुरूमा अजयले आफूले पहिले भगाएकी किशोरी, उनका दाजु र उनका साथीले मिलेर अवसनाको हत्या गरेको दाबी गरेका थिए। तर निरन्तर सोधपुछपछि उनले सत्य स्वीकार गरे।
प्रहरीका अनुसार अजयले अवसनालाई घुम्न र रमाइलो गर्न भन्दै चिसापानी जंगलमा लगेका थिए। त्यहाँ उनले घाँटी थिचेर हत्या गरेका थिए। पछि मृत्यु भएको सुनिश्चित गर्न र घटनालाई अपहरण तथा योजनाबद्ध अपराधजस्तो देखाउन उनले अवसनाका हात पछाडिबाट दोपट्टाले बाँधिदिएका थिए।
एसपी जिसीले अजयको बयान उद्धृत गर्दै भने, 'मलाई मुद्दा हाल्ने र केटी खोसेर लैजानेहरूलाई हत्या अभियोगमा फसाएर जेल पठाउने योजना थियो। त्यसैका लागि मैले निर्दोष अवसनाको हत्या गरेको हुँ।'
प्रहरीका अनुसार अवसनाको हत्या भएको करिब दुई घण्टाभित्रै अजय पक्राउ परिसकेका थिए। तर त्यतिबेला कसैलाई अवसना मारिएको जानकारी थिएन। अजयले पनि दुई दिनसम्म हत्या लुकाएका थिए। शव फेला परेपछि मात्रै घटनाको वास्तविकता बाहिर आएको हो।
अनुसन्धानका क्रममा प्रहरीले थप प्रमाणहरू पनि फेला पारेको छ। अजयले जेठ २६ गते आफ्नै भे ५ प ६१५४ नम्बरको मोटरसाइकलमा अवसनालाई लिएर चिसापानी जंगलतर्फ गएको देखिएको छ। आर्मी चेकपोस्टको अभिलेखमा जाँदा मोटरसाइकलमा दुई जना रहेको र फर्किंदा अजय एक्लै फर्किएको सिसिटिभी फुटेज समेत प्रहरीले सुरक्षित गरेको छ।
प्रहरीका अनुसार आफूविरूद्ध मुद्दा हाल्न भूमिका खेलेका व्यक्तिहरूलाई ज्यान मुद्दामा फसाएर आजीवन जेल पठाउने योजनाका साथ अजयले पूर्वप्रेमिका अवसनाको हत्या गरेका थिए। तर अन्ततः अर्कालाई फसाउन खनेको खाडलमा उनी आफै परेका छन्।
हाल अजयविरूद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक लगायतका मुद्दामा थप अनुसन्धान भइरहेको एसपी जिसीले बताए।