काठमाडौंको बालकुमारीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
उपत्यकामा लागुऔषध सप्लाई गर्ने गिरोहमाथि सूक्ष्म निगरानी राख्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले शनिबार ३०० ग्राम खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोर प्रसाद ओझैया, कैलालीको टीकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल र सप्तरीको राजगढ गाउँपालिका–३ का २० वर्षीय निरज कुमार मण्डल रहेका छन्।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भारतको वासमतियाबाट काठमाडौँ उपत्यकासम्म खैरो हेरोइन ल्याएर बिक्री गरिरहेको अवस्थामा बालकुमारी पुलमुनिबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार प्रहरीले नियन्त्रणमा लिन खोज्दा कारोबारीहरूले प्रहरी टोलीमाथि नै आक्रमण गरेर भाग्ने प्रयास गरेका थिए। सो क्रममा प्रहरीले चेतावनी स्वरूप २ राउण्ड हवाई फायर गरी रोकिन अनुरोध गर्दा समेत नरोकी भागेपछि प्रहरीले गोली चलाएको हो।
प्रहरीको गोली लागेर पर्साका किशोर प्रसाद ओझैया घाइते भएका छन्। उनको दाहिने खुट्टाको घुँडामुनि एक राउण्ड गोली लागेको छ। घाइते ओझैयालाई तत्कालै उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको छ र उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी अभिलेख अनुसार पक्राउ परेका मुख्य योजनाकार ओझैया लागु औषध मुद्दाकै पुराना र क्रोनिक कारोबारी हुन्। उनी यसअघि लागुऔषध मुद्दामा ३ वर्ष कैद र एक लाख चार हजार रुपैयाँ जरिवाना भुक्तान गरेर गत २०८२ साल पुस १७ गते मात्रै नख्खु कारागारबाट छुटेका थिए। कारागारबाट छुटेको ६ महिना नपुग्दै उनी पुनः ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट अबैध लागु औषध खैरो हेरोइन ३०० ग्राम र ४ थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका अन्य दुई जनालाई नियन्त्रणमा राखेर ब्यूरोले थप अनुसन्धान अघि बढाएको छ।