हाल कोशी प्रदशको केही स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ।
अन्य भू-भागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले सोमबार बिहान पनि कोशी प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भइरहेको छ।
झापाको चन्द्रगढी विमानस्थलमा एक घन्टामा ११.८ मिलिमिटर वर्षा भएको छ। संखुवासभाको नुममा ९.४ मिलिमिटर वर्षा गएको एक घन्टामा भएको छ। ताप्लेजुङ, सोलुखुम्बु, सुनसरीमा पनि वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
मधेश प्रदेशमा र कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।