सल्यानका एक युवा साइबर अपराध (विद्युतीय कारोबार सम्बन्धी कसुर) मा पक्राउ परेका छन्।
कुमाख गाउँपालिका–६ का २९ वर्षीय युवराज खड्का सोमबार शारदा नगरपालिका–४ क्षेत्रबाट पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले बताए।
सल्यानका दुई र दाङका एक जना गरी तीन जना व्यवसायीले खड्काविरूद्ध उजुरी दिएको भट्टराईले बताए। प्रहरीका अनुसार तीनै जनाको उजुरी एउटै प्रकृतिको छ।
उजुरीकर्ताले खड्का विरूद्ध सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्रहत्या गरेको भन्ने आरोप लगाएका छन्।
‘सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गर्नुका साथै मानमर्दन हुने प्रकृतिका सामग्री प्रकाशन तथा प्रसारण गरेको भन्ने उजुरी परेपछि उहाँलाई पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक भट्टराईले भने।
तर, पीडित आफन्त तथा समर्थकले समाजका बेथिति र भण्डाफोर गर्दा युवराजलाई पक्राउ गरिएको भन्दै विरोध गरेका छन्।
प्रहरी अधिकारीहरू भने खड्काले आफूलाई सरकारको उच्च ओहोदामा आसिन मन्त्री र नेताको नजिकको व्यक्ति भएको भन्दै जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी लगायतसँग अस्वाभाविक मागहरू राख्दै आएका थिए। माग पूरा नभए सामाजिक सञ्जालमार्फत बदनाम गर्ने तथा धम्की दिनेसम्मका काम गर्दै आएका थिए ।
खड्कालाई पक्राउ गर्नेबारे प्रहरीले वैशाख १६ गते पक्राउ आदेश प्राप्त गरेको थियो। प्रहरीका अनुसार उनी त्यसयता लुकीछिपी बस्दै आएका थिए।