गुल्मीमा मदिराले मातेका श्रीमानको कुटपिटबाट घाइते श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ।
इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमाललाई दाउराको चिर्पट प्रहार गरी गम्भीर घाइते तुल्याएका थिए।
मंगलरबार राति साढे ११ बजेतिर श्रीमानले श्रीमतीमाथि चिपर्ट लगायतले निर्घात कुटपिट गरेका थिए।
तर, प्रहरीले भने त्यसबारे बुधबार बिहान मात्रै सूचना पाएको थियो।
श्रीमानको कुटपिटबाट मुना अचेत रहेको कुरा बिहान साढे ७ बजेतिर स्थानीयमार्फत प्रहरी चौकी धनार्जे सूचना प्राप्त हुनासाथ त्यहाँबाट वरिष्ठ हवल्दार जगनारायण केवटको नेतृत्वमा खटिएको टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याएको थियो।
आक्रमणबाट अचेत मुनाको उपचारका क्रममा बुधबार बिहान करिब १० बजेतिर जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी भिमकिरण बोगटीले सेतोपाटीलाई बताए।
मदिराले मातेर श्रीमतीलाई चिपर्ट प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान यमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा एक प्रहरी टोली खटिएको छ।