नक्कली औषधिको अवैध कारोबारी भइरहेको सूचनापछि बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना हेल्थ क्लिनिकमा छापा मारिएको छ।
मानव स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील विषयमा खेलबाड गरी अवैध धन्दा चलाइरहेको विशेष उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले उक्त फार्मेसी र त्यसको गोदाममा आकस्मिक छापा मारेको थियो।
फार्मेसीमा छापा मार्दा श्वासप्रश्वास सम्बन्धी समस्यामा प्रयोग गरिने सेरोफ्लो रोटाक्याप्स नामक नक्कली औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त फार्मेसी विष्णु जिसीले सञ्चालन गर्दै आएका थिए।
उनले उपभोक्ता र बिरामीका आफन्तलाई आकर्षित गर्न कमसल गुणस्तरका नक्कली औषधि ल्याएर बजार मूल्यभन्दा निकै कम मूल्यमा बिक्री गर्दै आएका थिए। बजारमा महँगो पर्ने औषधिहरू निकै सस्तो दरमा उपलब्ध गराएर उनले लामो समयदेखि सेवाग्राहीलाई झुक्काइरहेको प्रहरीले जनाएको छ।
बिरामीका आफन्तले सस्तो पाउने लोभमा त्यहीँबाट औषधि खरिद गर्ने गरेको र त्यही आडमा नक्कली औषधिको ठुलो सञ्जाल चलाइएको सूचनाका आधारमा छापा मारिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।
औषधिको शङ्कास्पद मूल्य र व्यापारिक शैलीलाई लिएर आएका विभिन्न गुनासाका आधारमा उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राख्दै आएको उनले बताए।
फार्मेसी सञ्चालक जिसीलाई औषधि ऐन र जनस्वास्थ्य विरुद्धको कसुर अन्तर्गत कारबाहीका लागि प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ।
बरामद गरिएका औषधिहरूको वास्तविक गुणस्तर र रासायनिक अवस्था पत्ता लगाउन परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
अस्पतालहरूले घेरिएको संवेदनशील क्षेत्रमै यस प्रकारको घातक धन्दा हुनुले बुटवलको समग्र औषधि व्यवसायमाथि नै प्रश्न उठेको छ।