इलामको रोङ गाउँपालिकाले अभिभावकविहीन (टुहुरा) विद्यार्थीका लागि मासिक २ हजार रुपैयाँका दरले ‘उज्यालो भविष्य भत्ता’ उपलब्ध गराउने भएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत टुहुरा विद्यार्थीको शिक्षा, स्वास्थ्य र आर्थिक सुरक्षालाई लक्षित गर्दै उक्त कार्यक्रम घोषणा गरेको हो।
हाल गाउँपालिकाभित्र २१ जना टुहुरा विद्यार्थी रहेको जनाइएको छ। उनीहरूलाई मासिक भत्ता उपलब्ध गराउनुका साथै विद्यालय व्यवस्थापन र स्वास्थ्य बीमाको व्यवस्था पनि गाउँपालिकाले गर्दै आएको छ।
यसअघि गाउँपालिकाले प्रत्येक टुहुरा विद्यार्थीको नाममा १० हजार रुपैयाँ र सिद्धी हाइड्रोपावरबाट २० हजार रुपैयाँ गरी ३० हजार रुपैयाँ बैंक खातामा जम्मा गरिसकेको जनाएको छ।
उक्त रकम उच्च शिक्षाका लागि वा गाउँपालिकाको सिफारिसमा मात्रै झिक्न मिल्ने विशेष खातामा राखिएको छ।
गाउँपालिकाले सबै टुहुरा विद्यार्थीको डिम्याट खाता पनि खोलिदिएको छ।
उनीहरूको नाममा आइपिओमा लगानी गर्ने काम समेत सुरू गरिएको गाउँपालिकाले जनाएको छ। यसबाट दीर्घकालीन आर्थिक लाभ र वित्तीय सुरक्षा सुनिश्चित गर्ने लक्ष्य लिइएको पालिकाले जनाएको छ।
रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले टुहुरा विद्यार्थीको शैक्षिक तथा आर्थिक भविष्य सुदृढ बनाउन गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको बताए।
उनले ‘उज्यालो भविष्य भत्ता’ कार्यक्रमले विद्यार्थीलाई आत्मविश्वासका साथ अध्ययन अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।