युरोपका धेरै देशहरू यतिबेला भीषण गर्मी (लू) को चपेटामा परेका छन्। फ्रान्स, इटाली र बेलायत लगायतका देशमा गर्मीले जनजीवन अस्तव्यस्त बनाएको छ।
फ्रान्समा गर्मीका कारण हालसम्म ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने बेलायत र इटालीमा मौसम विभागले 'रेड अलर्ट' जारी गरेका छन्।
मौसमविद्हरूका अनुसार यो तातो हावाको लहर (हिटवेभ) पश्चिमी युरोप हुँदै पूर्वी युरोपतर्फ सर्ने अनुमान गरिएको छ।
फ्रान्समा गर्मीबाट राहत पाउन नदी, ताल र नहरमा पौडी खेल्न गएका ४० भन्दा बढी व्यक्तिको डुबेर मृत्यु भएको छ। फ्रान्सका श्रममन्त्री जान पियर फराडोले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भनेका छन्, 'हामी अब एउटा तातो देश बन्दै गइरहेका छौं।'
फ्रान्समा मंगलबार जुन महिनाकै सबभन्दा गर्मी दिन दर्ता गरियो, जहाँ औसत तापमान २९.८ डिग्री सेल्सियस रह्यो। दक्षिण-पश्चिमको लान्देस क्षेत्रमा तापक्रम ४४.३ डिग्री सेल्सियससम्म पुगेको थियो।
अत्यधिक गर्मीका कारण उत्तर-पश्चिमको फिनिस्टर क्षेत्रमा ट्रान्सफर्मर बिग्रिँदा ६८ हजार घरमा बिजुली आपूर्ति बन्द भएको छ।
त्यस्तै, ब्रेन्योन जंगलमा लागेको डढेलो नियन्त्रण गर्न १५० भन्दा बढी दमकलकर्मी परिचालन गर्नु परेको थियो।
मौसम विभाग 'मेटियो फ्रान्स' ले देशका ५८ क्षेत्रमा रेड अलर्ट र ३१ क्षेत्रमा ओरेन्ज अलर्ट जारी गरेको छ। आगामी शुक्रबारदेखि गर्मीमा केही कमी आउने र सँगै आँधीबेहरी तथा असिनापानी पर्न सक्ने अनुमान गरिएको छ।
उता इटालीको मध्य र उत्तरी भाग गर्मीबाट सबभन्दा बढी प्रभावित भएको छ। राजधानी रोम सहित १६ प्रान्तका मुख्य सहरमा रेड अलर्ट जारी गरिएको छ।
गर्मीको गम्भीरतालाई हेर्दै सरकारले बाहिर काम गर्ने किसान र मजदुरहरूको सुरक्षाका लागि विशेष नियमहरू पुनः लागू गरेको छ।
अत्यधिक गर्मीका कारण व्यवसायहरू बन्द गर्नुपरे कर्मचारीहरूलाई तलब दिन सरकारी कोषबाट सहयोग गरिने व्यवस्था गरिएको छ। स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई मासुको सट्टा पास्ता खान र कफी वा चिसो बियरको सट्टा पानी पिउन सल्लाह दिएको छ। ट्युरिन, मिलान, भेनिस र फ्लोरेन्स जस्ता सहरहरूमा संकटकालीन स्थिति छ।
बेलायतमा पनि गर्मीका कारण जनजीवन प्रभावित भएको छ। गर्मीकै कारण देशका १ हजारभन्दा बढी विद्यालय बन्द गरिएका छन् वा विद्यार्थीहरूलाई चाँडै छुट्टी दिइएको छ।
इङ्गल्यान्ड र वेल्सका केही भागमा बिहीबार रातिसम्मका लागि रेड अलर्ट जारी गरिएको छ। बेलायतको मौसम विभागले सन् २०२१ देखि 'हिट अलर्ट' जारी गर्न सुरू गरेयता यो दोस्रो पटक रेड अलर्ट जारी गरिएको हो।
यसअघि जुलाई २०२२ मा बेलायतमा इतिहासकै सबभन्दा बढी ४०.३ डिग्री सेल्सियस तापमान रेकर्ड गरिएको थालियो।
स्पेनको उत्तर-पूर्वी क्षेत्र आरागोनमा सबभन्दा बढी तापमान रेकर्ड गरिएको छ। डढेलोको जोखिमलाई ध्यानमा राख्दै परम्परागत चाड 'सान जुआन' मा आगो बाल्ने र लियोन सहरमा आतिशबाजी गर्ने कार्यक्रमहरू रद्द गरिएका छन्।
गर्मीबाट बच्न विभिन्न सहरमा 'हिट रिफ्युज' (वातानुकूलित सार्वजनिक भवनहरू) बनाइएका छन्, जहाँ सर्वसाधारण गएर बस्न सक्छन्।
सन् २०२४ को एक कानुनअनुसार कम्पनीहरूले आफ्ना मजदुरहरूलाई दिनको सबैभन्दा गर्मी समयमा भारी काम गराउन नपाउने व्यवस्था गरिएको छ।
गर्मीको यो लहर अब अन्य देशहरूमा पनि फैलिरहेको छ। नेदरल्यान्ड्सका केही भागमा 'ओरेन्ज अलर्ट' जारी गरिएको छ। नेदरल्यान्ड्स र बेल्जियममा शुक्रबार तापमान उच्च रहने अनुमान छ भने जर्मनीमा सप्ताहन्त (विकेन्ड) मा ४० डिग्री सेल्सियस पुग्न सक्ने चेतावनी दिइएको छ।
यो साताको अन्त्यसम्म पोल्यान्ड, क्रोएसिया र हंगेरी जस्ता पूर्वी युरोपेली देशहरूमा पनि गम्भीर गर्मीको अलर्ट जारी गरिएको छ।