रोल्पा प्रहरीले बाँकेको नौबस्तास्थित बालसुधार गृहबाट भागेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।
कर्तब्य ज्यान मुद्दाका ती फरार प्रतिवादी २०८१ सालमा नौबस्तास्थित सुधार गृहमा भएको तनाबका बीच मौका छोपेर भागेका थिए।
पछिल्लो समय उनी रोल्पाको रुन्टीगढी गाउँपालिका–२ स्थित आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी बुधबार बेलुका ५ बजेतिर नियन्त्रणमा लिइएको हो।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक मनिष थापा र अस्थायी प्रहरी पोष्ट सुर्पालबाट प्रहरी सहायक निरीक्षक बलबहादुर परियारको नेतृत्वमा खटिएको संयुक्त टोलीले ती फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको थियो।
उनलाई पक्राउ गर्न जिल्ला अदालत बाँकेले जिल्ला प्रहरी कार्यालय रोल्पालाई पत्राचार गरेको थियो।
पक्राउ परेका ती व्यक्तिलाई इलाका प्रहरी कार्यालय रोल्पा होलेरीमा राखिएको र बाँके पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।