नेपाली सेनाले अभ्यासका क्रममा ग्रिनेट बम बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
यो घटना कैलालीको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार लम्कीचुहा नगरपालिका-३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गे ब्यारेकमा अभ्यासको क्रममा ग्रिनेड बिस्फोट भएको हो।
सो क्रममा हुद्दा हिमालविक्रम बिष्टको उपचारका क्रममा मृत्यु भएको हो।
अर्का घाइते सहसेनानी हिमराज जोशीलाई हेलिकोप्टरमार्फत नेपालगन्जका लागि लगिएको छ।
डिएसपी तिमिल्सिनाका अनुसार गोरङ्गे ब्यारेकमा बिहीबार बिहान अभ्यासका क्रममा ग्रिनेड विष्फोट हुँदा उनीहरू गम्भीर घाइते भएका थिए। दुबै जना घाइतेलाई साढे १० बजेतिर लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका लागि पुर्याइएको थियो।
हुद्दा हिमाल विक्रम बिष्टको दाहिने हातको हत्केला र छर्राले शरीरको अन्य भागहरूमा चोट लागेको थियो। नजिकै रहेका सहसेनानी हिमराज जोशीलाई पनि शरीरमा छर्रा लागेर घाइते भएका थिए। उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ।
घटनाबारे बिहान पौने १० बजेतिर नेपाली सेनाले इलाका प्रहरी कार्यालय चिसापानीमा खबर गरेको थियो।
घाइतेमध्ये बिष्टको मध्यान्ह १२ बजेतिर मृत्यु भएको थियो। सहसेनानी जोशीलाई त्यसपूर्व थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले ग्रिनेड तालिमको क्रममा दुर्घटना भएको बताए। हुद्दा विष्टले ग्रिनेड फ्याँक्नेक्रममा हातमा पड्किएको उनले जानकारी दिए।
यस घटनासँग सम्बन्धित आवश्यक काम कारबाही भइरहेको पनि उनले बताए।