हेटौंडा उपमहानगरपालिका वडा नं. ९ स्थित सिआन पुनर्स्थापना केन्द्र देशकै सर्वोत्कृष्ट संस्थाको रूपमा सम्मानित भएको छ।
'अन्तर्राष्ट्रिय लागुऔषध दुरूपयोग तथा ओसारपोसार विरूद्धको दिवस' को अवसरमा गृह मन्त्रालयमा आयोजित एक समारोहबीच संस्थालाई यस वर्षको कार्यसम्पादन उत्कृष्टता पुरस्कार प्रदान गरिएको हो।
गृह सचिव राजकुमार श्रेष्ठले सिआन पुनर्स्थापना केन्द्रको उदाहरणीय कार्यको उच्च मूल्यांकन गर्दै उक्त सम्मान पत्र हस्तान्तरण गरेका हुन्।
सोही अवसरमा संस्थाको सामाजिक योगदानलाई थप प्रोत्साहन दिन मन्त्रालयको तर्फबाट रु. १ लाख नगद अनुदान समेत उपलब्ध गराइएको छ।
मन्त्रालयको तर्फबाट प्रदान गरिएको उक्त सम्मान र अनुदान रकम सिएन पुनर्स्थापना केन्द्रका विभागीय प्रमुख उत्सव अर्यालले ग्रहण गरेका थिए।
लागुऔषध दुर्व्यसनीको अन्धकारबाट जीवनलाई उज्यालो तर्फ डोर्याउन खटिएको भन्दै सिआनलाई उक्त सम्मान गरिएको हो।