कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादव माथिको दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघ सुदूरपश्चि प्रदेश धनगढी शाखाले विरोध जनाएको छ।
यादवले बिहीबार दिउँसो लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले आफू विरूद्ध दुर्व्यवहार तथा धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मेयर शाहीविरूद्ध जोहरी दिएका थिए।
तर, त्यो प्रहरी प्रशासनले हेर्ने भन्दा पनि राजनीतिक विवाद भएको भन्दै सम्बन्धित मन्त्रालय लगायत प्रदेश सरकारले सुल्झाउन उपयुक्त हुने जिल्लास्थित उच्च सुरक्षा पदाधिकारीले प्रतिक्रिया दिएका थिए।
सोही विषयमा मेयर शाहीको दुर्व्यवहार तथा धम्कीका कारण अवरोध पुग्न सक्ने भन्दै चिकित्सक संघले चिन्ता व्यक्त गरेको छ।
संघका अध्यक्ष डा. खगेन्द्रराज भट्ट र सचिव डा. मेराज आलम अन्सारीले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
विगतदेखि नगरपालिकाको स्वामित्वमा सञ्चालन हुँदै आएको अस्पताल पछिल्लो समय प्रदेश सरकार मातहतमा पुगेको छ।
विवाद अदालतमा पुगेपछि सर्वोच्च अदालतले प्रदेशको पक्षमा फैसला गरेको थियो। तै पनि यहाँ नगरपालिका र प्रदेश सरकारका बीचमा अस्पतालको स्वामित्व तथा कर्मचारी व्यवस्थापन लगायतको सवालमा विवाद हुँदै आएका छन्।