कपाल झर्नु अहिले सामान्य जस्तै भइसकेको छ। यसको कारण विभिन्न हुन सक्छन्, जसमध्ये एउटा कारण तनाव पनि हुन सक्छ।
युवावस्थामै कपाल झर्ने अनि 'मेरो कपाल पातलो भयो' भनेर आउनेहरू धेरै हुन्छन्।
कतिलाई रगत परीक्षण गर्दा विभिन्न खालका दीर्घ रोग देखिएका हुन्छन्। कतिपयमा हर्मोनको गडबडीका कारण पनि कपाल झर्ने समस्या देखिएको हुन्छ। हाम्रो खानपानको शैलीले पनि कपाल झर्न सक्छ। अर्को, पारिवारिक पृष्ठभूमि पनि धेरै महत्त्वपूर्ण हुन्छ। पहिले पहिले ४० वर्ष कटेपछि कपाल झर्छ भन्ने मान्यता थियो, तर अहिले २०–२५ वर्षकै उमेरमा पनि यस्तो समस्या देखिन थालेको छ।
यो समस्या केटाहरूमा मात्र देखिने भन्ने हुँदैन। हर्मोन, पौष्टिक तत्त्व र खानपानसँग जोडिने भएकाले यो समस्या जोसुकैलाई पनि हुन सक्छ। महिलाहरूमा पनि हर्मोनको असन्तुलन, पाठेघर सम्बन्धी समस्या, पिसिओडी लगायतका कारणले कपाल झर्ने समस्या देखिन सक्छ।
कपाल झर्ने पनि विभिन्न चरण हुन्छन्। कपाल झर्ने अवस्थाका आधारमा उपचार गरिन्छ। कसैलाई औषधिले राम्रो गर्न सक्छ भने कसैलाई शल्यक्रियासम्म जानुपर्ने हुन सक्छ। राम्रोसँग परीक्षण गरियो भने कहिलेकाहीँ सामान्य मल्हमले पनि काम गर्न सक्छ। प्रत्यारोपण नै गर्नुपर्छ भन्ने छैन।
लगाउने औषधि वा सिरमबाट कपाल जोगाउन सकियो भने पहिलो रोजाइ त्यही हुन्छ। कतिपय अवस्थामा इन्जेक्सनको प्रयोगले पनि कपाल बढ्न सक्छ। अर्थात्, कपाल झर्न थालेको सुरूआती चरणमै थाहा पाइयो भने यसको रोकथामका अनेक उपाय अपनाउन सकिन्छ। कतिपय अवस्थामा कपाल झर्न पूर्ण रूपमा रोक्न नसकिए पनि त्यसलाई केही समय पर सार्न सकिन्छ। साथै, कपालको आयु पनि लम्ब्याउन सकिन्छ।
कपाल प्रत्यारोपण भनेको एउटा कस्मेटिक शल्यक्रिया हो। कपाल प्रत्यारोपण गर्नैपर्छ भन्ने छैन। यो व्यक्तिको चाहनामा भर पर्ने कुरा हो। आफ्नो अनुहारलाई आकर्षक देखाउन चाहनेले प्रविधिको प्रयोग गर्न सक्छन्। बाहिरी व्यक्तित्व र सौन्दर्यसँग जोडिएका क्षेत्रमा काम गर्नेहरूका लागि कपाल प्रत्यारोपण आवश्यक पनि हुन सक्छ। कपाल प्रत्यारोपण गर्न सक्ने र आफूलाई आवश्यक ठान्नेहरूले यो प्रक्रिया अपनाउनु राम्रो हुन्छ। कसैका लागि कपाल प्रत्यारोपणले व्यक्तित्व र आत्मविश्वास दुवै बढाउन सक्छ।
कपाल प्रत्यारोपणका लागि कुनै निश्चित उमेर समूह तोकिएको छैन। कसैलाई कपालको अगाडिको भाग मिलाउन मन लागेको हुन्छ भने कसैको वंशाणुगत रूपमा निधार ठूलो भएको हुन्छ। त्यस्तो अवस्थामा पनि कपाल प्रत्यारोपण गर्न सकिन्छ।
एकपटक कपाल प्रत्यारोपण गरेपछि त्यो लामो समयसम्म रहन्छ। तर त्यसलाई टिकाइराख्न उचित हेरचाह गर्नुपर्छ। जस्तै, गमलामा फूल रोपेपछि त्यसलाई मल हाल्ने र स्याहार गर्ने गरेझैँ प्रत्यारोपण गरिएको कपालको पनि नियमित हेरचाह आवश्यक हुन्छ।
कपाल रोप्ने विभिन्न तरिका हुन्छन्। विभिन्न चरणमा गरेर पनि रोप्न सकिन्छ भने एकैपटक पनि रोप्न सकिन्छ। हामीले जति कम कपाल रोप्यौँ, त्यति नै टिक्ने सम्भावना बढी हुन्छ। एकैपटक धेरै कपाल रोप्दा त्यसलाई जोगाउन गाह्रो हुन सक्छ। साथै, जहाँबाट कपाल निकालिएको हो, त्यस ठाउँमा पनि असर पर्न सक्छ। त्यसैले एकपटकमा २ देखि ३ हजारसम्म कपाल रोप्नु उपयुक्त मानिन्छ।
कपाल प्रत्यारोपणका लागि कपाल कुन ठाउँबाट ल्याउने भन्ने जिज्ञासा हुनु स्वाभाविक हो। सामान्यतया टाउकोको पछाडिको भागबाट कपाल निकालिन्छ। यदि त्यहाँबाट पर्याप्त कपाल नपुगेमा दाह्री वा छातीको रौँ पनि प्रयोग गर्न सकिन्छ।
कपाल प्रत्यारोपण गर्न सामान्यतया ६ देखि ७ घण्टासम्म लाग्न सक्छ। तर कहिलेकाहीँ डिजाइन गर्नेदेखि सफा गर्नेसम्मको प्रक्रियाका कारण १० घण्टासम्म पनि लाग्न सक्छ।
कपाल प्रत्यारोपण पनि शल्यक्रियाकै एउटा रूप हो, तर यो सामान्य शल्यक्रिया मानिन्छ। त्यसअघि रगतको परीक्षण गरेर कपाल प्रत्यारोपण गर्न मिल्ने वा नमिल्ने भन्ने टुंगो लगाउनुपर्छ। सुगर, थाइराइड, बाथ रोग तथा अन्य केही दीर्घ रोग भएका बिरामीमा विशेष सावधानी अपनाउनुपर्छ। उनीहरूलाई कपाल रोप्नै नमिल्ने भन्ने होइन, तर कपाल रोपेपछि राम्रोसँग नअडिन पनि सक्छ।
((कपाल झर्नबाट कसरी रोक्ने, कपाल प्रत्यारोपण गर्नुभन्दा पहिला कस्ता विकल्प हुन्छन्, कपाल प्रत्यारोपण कहिले गर्ने लगायतका विषयमा केन्द्रित रहेर ‘बि एण्ड बि’ अस्पताल र समाज स्किन तथा लेजर क्लिनिकमा कार्यरत छाला रोग विशेषज्ञ डा. पारस श्रेष्ठसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)