काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोल शनिबार अस्पतालमा पुगेर खोप प्रदान गरेकी हुन्।
‘अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ । खोप अभावले आउने विपदको सामनाका लागि प्रतिकार्य हो,’ उनले भनिन्।
उनले जनावरले टोकेपछि उपचारका लागि जाने अस्पतालमा नै खोप अभाव हुँदा थप जोखिम उत्पन्न भएको बताइन्।
‘यसमा लक्षण पर्खिन सकिँदैन । लक्षण देखिए पछि उपचार थालौंला भन्न सकिँदैन । यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ,’ उनले भनिन्।
खोप ग्रहण गर्दै अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले महानगरले प्रदान गरेको खोप करिब ९ दिनलाई पुग्ने बताए।
‘दैनिक २ सय जना भन्दा धेरै व्यक्तिहरू रेविज विरूद्धको खोप लगाउन आउनुहुन्छ। खोप अभाव हुन सक्ने देखिएपछि हामीले महानगरपालिकासँग सहयोग मागेका थियौं,’ उनले भने।
माग गरेपछिको ७ दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको हो। यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको डा. बास्तोलाले बताएका छन्।