मोरङ कारागारका कैदीबन्दीहरुबाट रकम असुलेको अभियोगमा शनिबार विराटनगरका अभिषेक गिरी पक्राउ परे लगत्तै उनीसँगको मिलेमतोको आरोपमा चौकीदार राकेश यादव पनि अनुसन्धानमा तानिएपछि मोरङ कारागार अशान्त बनेको छ।
प्रहरीले अनुसन्धानका लागि यादवलाई हिरासतमा लिन खोजेपछि कारागारभित्रको स्थिति नियन्त्रण बाहिर जाने अवस्थामा पुगेको छ।
यादवलाई अन्यत्र सरुवा गर्न लागिएको आशंकामा कैदीबन्दीहरूले कारागारभित्रै चर्को नाराबाजी र विरोध प्रदर्शन गरिरहेका छन। स्थिति बिग्रिने देखेपछि प्रहरीले नाइके यादवलाई पुनः कारागारभित्रै राखेर बयान लिन थालेको छ।
रकम असुल्ने गिरीलाई हदैसम्मको कारबाही माग गरेका उनीहरूले वर्तमान नाइके यादवलाई सरुवा गर्न नपाइने माग गरेका छन्।
कैदीबन्दीको श्रम र सरकारी भत्तामाथि आँखा गाडेको आरोप लागेका अभिषेक गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै घरबाट नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा गएको टोलीले गिरीको घरमा छापा मार्दा केही शंकास्पद तमसुकहरू फेला पारेको छ।
गिरीले आफू कारागारको नेतृत्वमा रहँदा, कैदीबन्दीहरू जेल पर्नु अगाडिको ब्याक-डेट (पुरानो मिति) राखेर जबरजस्ती कागज गराई रकम असुली गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मोरङ कारागारमा हाल १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ जना कैदीबन्दी आश्रित छन्। उनीहरूको कमाइमाथि गिरीले लामो समयदेखि रजाइ गरेको प्रहरीको दाबी छ। दैनिक र वार्षिक भत्ता, श्रमलो परिश्रमिकको लगायतमा असुली गरेको अभियोग उनीमाथी छ।
चौकीदार राकेश यादवसँगको मिलेमतोमा गिरीले कैदीबन्दीको यो सम्पूर्ण कमाइ आफ्ना सहयोगीहरूको बैंक खातामा ट्रान्सफर गर्न लगाउने गरेको सुरक्षा निकायको भनाइ छ।
पक्राउ परेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पुगेका गिरी बिरामी भएको निहुँमा कोशी अस्पताल भर्ना भएका छन्।
