दुर्घटनामा परेका प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर ५० वर्षीय उपमेयर मिनराज राना मगरको अवस्था रहेको प्रहरीले जनाएको छ।
जिल्लाका प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीका अनुसार गाडीसँगै मुनि च्यापिएको अवस्थामा फेला परेका उपमेयरले कुनै प्रतिक्रिया नदिएको भन्ने सूचना घटनास्थलबाट मातहतका प्रहरीले पठाएका छन्।
‘उहाँ गाडीमा च्यापिएको अवस्थामा फेला परेको तथा कुनै पनि प्रतिक्रिया नदेखिएको भन्ने छ,’ डिएसपी अधिकारीले भने, ‘उहाँलाई त्यहाँबाट निकाल्ने प्रयास जारी छ।’
अस्पताल पुर्याएपछि उपमेयरको अवस्थाबारे थाहा हुने प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए।
शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा झन्डै ४०० मिटर मुनि रूखमा अड्किएको अवस्थामा दुर्घटनाग्रस्त फेला परेको थियो।
उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए। उनी गाडीमा एक्लै सवार थिए। घटनास्थालमा अस्थायी प्रहरी पोष्ट खालबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर केसी नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय भृङ्ग्रीबाट प्रहरी निरीक्षक सुजनबाबु बिश्वकर्मा नेतृत्वको टोली खटिएको छ।
घटनास्थल अस्थायी प्रहरी पोष्ट खालबाट अन्दाजी ९ किलोमिटर उत्तर पूर्व रहेको छ।
उनी २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए।