गाडी दुर्घटनामा प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको मृत्यु भएको छ।
शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा झन्डै ४०० मिटर मुनि रूखमा अड्किएको अवस्थामा दुर्घटनाग्रस्त फेला परेको थियो।
दुर्घटनास्थबाट उद्धार गरी उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भ्रिंगी पठाइएकोमा राति ९:२० बजे डाक्टरले मृत घोषणा गरेको जिल्लाका प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीले जानकारी दिए।
शव पोस्टमर्टका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ।
उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए।
उनी गाडीमा एक्लै सवार थिए। गाडी झन्डै ४०० मिटर तल खसेको थियो। दुर्घटनापछि उनी गाडी मुनि च्यापिएका थिए।
दुर्घटनास्थलबाट उनलाई निकाल्न केही समय लागेको थियो।
घटनास्थालमा अस्थायी प्रहरी पोष्ट खालबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर केसी नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय भ्रिंगी बाट प्रहरी निरीक्षक सुजनबाबु बिश्वकर्मा नेतृत्वको टोली खटिएको थियो।
५० वर्षीय रानामगर २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए।