काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय निजी तथा सार्वजनिक सवारीका माइक्रो तथा ट्याक्सीहरूमा समेत कालोसिसा को प्रयोग गर्दै सडकमा गुड्न थाले पछि कडाइ गर्न थलेको एसपी नरेशराज सुवेदीले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय ३७ वटा गाडी धनीलाई हटाउन लगाएर जरिवाना समेत गरिएको छ।
एसपी सुवेदीका अनुसार कालो सिसाको प्रयोग गरेर स-साना हतियारको ओसारपसार, लागुऔषधको ओसारपसार, सुन तथा अवैध मुद्राको ओसारपसार, विभिन्न जघन्य मुद्दाका फरार अपराधीहरू लुकिछिपी हिड्ने, विभिन्न हिंसा जन्य घटनाहरू तथा दुर्व्यवहारका घटनाहरू हुने गर्छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रंग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नपाइने व्यवस्था गरिएको छ। यसरी स्वरूप परिवर्तन गर्नेलाई ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा पठाउने गर्छ। विभागले यसरी स्वरूप परिवर्तन गर्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको छ।
गाडीमा टिन्ट ग्लास राख्नेहरूको हकमा भने ट्राफिक प्रहरीले हटाउन लगाइरहेको हो।