सर्प उद्धारकर्ताहरूको क्षमता अभिवृद्धि तथा सर्प पहिचान र सुरक्षित उद्धारलाई प्रोत्साहन गर्ने उद्देश्यले आइतबार सर्प उद्धार किट वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जेनेभा विश्वविद्यालयको सहकार्यमा सञ्चालित SNAICS परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा सहभागी सर्प उद्धारकर्ताहरूलाई सर्प उद्धारका लागि आवश्यक सामग्रीसहितका उद्धार किट वितरण गरिएको थियो।
कार्यक्रममा अनुभवी सर्प उद्धारकर्ता रोहित गिरीले विषालु र अविषालु सर्पको पहिचान, आफ्ना उद्धार अनुभवहरू, वातावरणीय सन्तुलनमा सर्पको भूमिका, तथा सर्पलाई सुरक्षित रूपमा उद्धार गरी त्यसकै प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्नुको महत्त्वबारे छोटो अभिमुखीकरण प्रदान गरे। साथै, उद्धारका क्रममा अपनाउनुपर्ने सावधानी र उद्धार सामग्रीको उचित प्रयोगबारे पनि जानकारी दिए।
कार्यक्रममा SNAICS परियोजनाको उद्देश्य, नेपालमा सर्पदंशसम्बन्धी अनुसन्धानको महत्त्व तथा सर्प उद्धारकर्ताहरूको योगदानबारे समेत जानकारी प्रस्तुत गरिएको थियो।
परियोजनाका प्रमुख अनुसन्धानकर्ता प्रा. डा. सञ्जीवकुमार शर्माको नेतृत्वमा सम्पन्न कार्यक्रमले सर्प उद्धारकर्ताहरूको ज्ञान तथा सीप अभिवृद्धि गर्नुका साथै अनुसन्धानमा उनीहरूको सक्रिय सहभागितालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी उद्धारकर्ताहरूले प्राप्त उद्धार किट तथा अभिमुखीकरणले आफ्नो कार्यलाई अझ सुरक्षित, प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।