कैलालीको धनगढीमा भएको १० वर्षीय बालकको हत्याका पछाडि उनले कानमा लगाएको सुनको मुन्द्रा लुट्ने उद्देश्य हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले बताएका छन्।
असार १० गते साँझ ५ बजेदेखि बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१७, धर्जनाका १० वर्षीय चनोज चौधरीको शव असार १२ गते स्थानीय कालिका सामुदायिक वनमा फेला परेको थियो।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले त्यस दिन बालकसँगै बसेर गँगटा खाएका २५ वर्षीय स्थानीय युवा खगेन्द्र कठायतको खोजी तीव्र पारेको जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार स्थानीय सडकबाट झन्डै ५० मिटरभित्र रहेको सामुदायिक वनमा बालकको शव फेला परेको थियो।
मृतकका बुबा मीनराज चौधरीका अनुसार चनोजको दाहिने कानमा करिब २ आनाको सुनको मुन्द्रा थियो। उक्त मुन्द्रा घटनास्थलमा फेला नपरेको डिएसपी तिमिल्सिनाले बताएका छन्।
प्रारम्भिक अनुसन्धानका आधारमा त्यही मुन्द्रा लुट्न ढुंगा प्रहार गरी बालकको हत्या गरिएको हुन सक्ने उनको भनाइ छ।
'चनोज एक्लै जंगलको बाटो साइकलमा घर फर्किँदै गर्दा सुनको मुन्द्रा लुट्ने उद्देश्यका साथ ढुंगा प्रहार गरी हत्या गरिएको हुन सक्छ,' डिएसपी तिमिल्सिनाले भने, 'एक जना गाउँकै शंकास्पद व्यक्ति फरार रहेकाले उनको खोजी तीव्र पारिएको छ।'
यसरी भएको थियो घटना
कक्षा २ मा अध्ययनरत चनोज असार १० गते दिउँसो गाउँकै एक जना साथीसँग साइकल चढेर बुबा मीनराज चौधरी काम गरिरहेको खेतमा पुगेका थिए।
त्यहाँ दुवै बालकले नजिकैको खोलाबाट माछा र गँगटा मारेर ल्याएका थिए। ती गँगटालाई बुबा मीनराजसहित खेतमा काम सघाउन आएका विष्णु चौधरी, स्थानीय टेक कठायत र उनका छोरा खगेन्द्र कठायतले आगोमा पोलेर खाएका थिए।
त्यस क्रममा उनीहरूले घरबाट लगेको मदिरा समेत सेवन गरेका थिए।
खानपिनपछि मीनराज काममा व्यस्त भए। बेलुकी करिब ६ बजेतिर चनोज एक्लै साइकलमा घर फर्केका थिए। खेत र घरको बीचमा जंगल पर्छ। चनोज राति अबेरसम्म घर नपुगेपछि बुबा मीनराजले खोजी सुरू गरेका थिए।
उनले त्यसै दिन राति ७:५० बजे प्रहरी चौकी कनरीमा सूचना पनि दिए।
प्रहरी र स्थानीयवासीले लगातार दुई दिन खोजतलास गर्दा पनि फेला नपरेका चनोजको शव असार १२ गते दिउँसो १२ बजेतिर जंगलमा फेला परेको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी तिमिल्सिनाका अनुसार अत्यधिक गर्मीका कारण शव सडिसकेको र जंगली जनावरले लुछेको अवस्थामा फेला परेको थियो।
उनले शव फेला परेको स्थान नजिकै बालकको साइकल, चप्पल र वरपरका ढुंगा तथा कच्ची बाटोमा रगतका टाटा फेला परेको बताएका छन्। शवको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।
चार जना नियन्त्रणमा, मुख्य शंकास्पद व्यक्ति फरार
प्रहरीले घटनाको अनुसन्धानका लागि चनोजका साथी र उनका बुबा दिलखुस चौधरी, विष्णु चौधरी र टेक कठायतसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका नाबालकसहित चारै जनासँग सोधपुछ गर्दा हालसम्म हत्यामा उनीहरूको संलग्नता नखुलेको तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार दिउँसो बालकसँगै गँगटा खाएका र लागुऔषध प्रयोगकर्ताको पृष्ठभूमि रहेका २५ वर्षीय खगेन्द्र कठायत भने घटनालगत्तै फरार भएका छन्।
फरार अभियुक्त पक्राउ परेपछि हत्याको थप रहस्य उजागर हुने डिएसपी तिमिल्सिनाले बताए।