कपिलवस्तुमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
गएराति धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३७२१ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
बस अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएपछि सडकमा पल्टिएको हो।
गाडीमा चालकसहित ४६ जना सवार थिए। त्यसमध्ये २२ जना घाइते भएका हुन्। घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।
२४ जनालाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ। दुर्घटनापछि बसलाई क्रेनको सहायताले हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको छ।
बस चालक कैलाली धनगढी उपमहानगरपालिका-१३ गेटा बस्ने ४२ वर्षीय हरीसिंह महरा प्रहरीको नियन्त्रणमा छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।