उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ।
मंगलबार बिहान उनको निधन भएको उच्च अदालत पाटनले जनाएको छ।
अदालतका सूचना अधिकारी गोविन्द कोइरालाका अनुसार पराजुली बिहान नुहाउन जानेक्रममा असहज महसुस गरेका थिए।
असहज भएपछि उनलाई भक्तपुरस्थित अस्पतालमा लगिएको थियो।
अस्पतालमा उपचारको क्रममा निधन भएको सूचना अधिकारी कोइरालाले बताए।
‘हृदयाघात हो कि भन्ने आशंका छ, बिहान नुहाउन जानेक्रममा असहज भएर अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि निधन भएको हो,’ उनले भने।
पराजुलीको निधन भएपछि शोकमा अदालतका सबै सुनुवाइ स्थगित भएको छ।
पराजुलीको अन्त्यष्टि पशुपतिमा गर्ने तयारी छ।