प्रहरीले रूपन्देहीबाट २० लाखभन्दा बढीका अवैध मोबाइल सहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले सोमबार रूपन्देहीको कोटहीमाईबाट उक्त मोबाइल सहित मानिस पक्राउ गरेको हो।
प्रहरीले सोमबार बिहान कोटहीमाई गाउँपालिका वडा नं. ५ स्थित बेनिनगरमा आकस्मिक चेकजाँच गर्ने क्रममा कोटहीमाई गाउँपालिका वडा नं.२ बस्ने ३६ वर्षीय पवन कुमार मुरावलाई पक्राउ गरेको हो।
युपी ५६ डिएक्स ८८३८ नं. को भारतीय मोटरसाइकलमा नेपालतर्फ आइरहेका मुरावलाई रोकी चेकजाँच गर्ने क्रममा विभिन्न मोडलका ३५ थान अवैध आइफोन बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरिएका आइफोनहरूको बजार मूल्य २० लाख ५० हजारभन्दा माथि रहेको पनि प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका मुराव, मोटरसाइकल र मोबाइल आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देहीमा पठाएको जनाएको छ।