अमेरिकी डलरको तुलनामा जापानी येनको मूल्य झण्डै चार दशकयताकै न्यून बिन्दुमा झरेको छ।
इरानमा जारी युद्धको आर्थिक प्रभाव र मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई मुश्किल भइरहेको बेला लगानीकर्ता चिन्तित भएकाले जापानी येनको अवमूल्यन भएको फाइनान्सियल टाइम्सले जनाएको छ।
टोकियोमा मंगलबार बिहानको कारोबारका क्रममा येन १९८६ डिसेम्बर यता पहिलो पटक प्रतिडलर १६२ येनभन्दा कमजोर भएको छ। यससँगै यो वर्ष येनको मूल्यमा तीन प्रतिशतभन्दा बढीको गिरावट आएको छ। अब जापानले आफ्नो मुद्रालाई बलियो बनाउन पुनः हस्तक्षेप गर्न सक्ने अनुमान गरिएको छ।
येनको भाउ प्रतिडलर १६२.२७ को न्यून बिन्दु नजिक पुग्दा, जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले 'आवश्यक परेको जुनसुकै बेला कदम चाल्न सरकार तयार रहेको' भनेर पुरानै अडान दोहोर्याए।
इरान युद्धका कारण तेलको मूल्यमा आएको उछालले निम्त्याएको मुद्रास्फीति नियन्त्रण गर्ने मामिलामा जापानको केन्द्रीय बैंक अरू विकसित देशका केन्द्रीय बैंकको तुलनामा पछि परेकाले येनमा गिरावट आएको हो। सन् २०२४ को मध्यमा पनि येनको भाउ धेरै घटेको थियो। तर पनि यति धेरै गिरावट भने आएको थिएन।
प्रधानमन्त्री सनई ताकाइचीले केही दिन अघि आर्थिक वृद्धिका लागि सार्वजनिक र निजी लगानीको ठूलो कार्यक्रमको योजना सार्वजनिक गरेकी थिइन्। उक्त योजना अन्तर्गत १४ वर्षको अवधिमा २३ खर्ब डलर बराबरको लगानीको परिकल्पना गरिएको छ। तर यसको वित्तीय व्यवस्थापन कसरी बाँडफाँट गरिनेछ भन्ने कुरामा स्पष्ट विवरण नहुँदा उनले जापानलाई थप वित्तीय विस्तारतर्फ धकेलेको भन्दै चिन्ता बढेको छ। यस्तोमा येनको मूल्य झण्डै चार दशकयताकै न्यून बिन्दुमा झरेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)