प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ
जिल्ला प्रहरी परिसर काठमाडौंले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४३ वर्षीय रामशरण दमाई, काठमाडौंका ३९ वर्षीय सबिन खवास, पर्साकी ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीका ४६ वर्षीय शेरबहादुर मोक्तान छन्।
असार ९ गते साँझ ७ बजेतिर सर्लाहीका धनबहादुर मोक्तान साथी शेरबहादुरकोमा गएका थिए। उनले जग्गा खरिद गर्नका लागि भनेर काठमाडौं आइपुगेका थिए।
त्यही बेलामा ५/६ जनाको समूहले प्रहरी हौं भनेर धम्क्याएर धनबहादुरलाई नियन्त्रणमा लिएको एसपी भट्टराईले बताए।
नियन्त्रणमा लिएर हतकडी समेत लगाएर धनबहादुरले बोकेको १० लाख ९५ हजार रुपैयाँ, मोबाइल, बैंकका खाली चेकहरू डाँका चोरी गरी भागेका थिए। अनुसन्धानको क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो।
उनीहरूबाट प्रहरीले दुई लाख रुपैयाँ नगद बरामद गरेको छ।