मनसुनी प्रणाली सक्रिय भएयता भारतको अरूणाचल प्रदेशमा भएको एउटा घटनाको भिडिओ अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल छ।
अरूणाचल प्रदेशको तल्लो सियाङ क्षेत्रमा एक मोटरसाइकल चालक ठूलो पहिरोबाट बालबाल बाँचेको दृश्य उक्त भिडिओमा देखिन्छ।
भारतका प्रमुख अखबारहरू इन्डियन एक्सप्रेस, हिन्दु, टाइम्स अफ इन्डिया लगायतले उक्त भिडिओ प्राथमिकतासाथ सेयर गरेका छन्।
भिडिओमा ती मोटरसाइकल चालक लगातारको झरीका कारण अवरूद्ध बाटो पार गर्न खोज्दै गरेका देखिन्छन्। त्यही बेला लेदो सहितको पहिरो खसेर सिंगो पहाड नै तल बग्न थाल्छ। त्यही पहाडमाथि बनेको बाटो पनि सँगसँगै बग्दै जान्छ।
ती मोटरसाइकल चालक कति भाग्यमानी छन् भने, सिँगै पहाड खस्दा पनि उनलाई सामान्य चोटसमेत लाग्दैन। उनको मोटरसाइकल पनि केही हुँदैन। उनी पहाड खसेपछि पनि सकुशल देखिन्छन्। र, मोटरसाइकल तलै छाडेर दौडिँदै माथि आउँछन्।
निकै चर्चामा आएको उक्त भिडिओले धेरैको ध्यान तानेको छ। एक प्रयोगकर्ताले लेखेका छन्, 'कस्तो भाग्यमानी! सकुशल बाँचेकोमा खुसी लाग्यो।'
अर्का प्रयोगकर्ताले टिप्पणी गरेका छन्, 'उनी पहिरोबाट मात्र बाँचेनन्, उनले त पहिरोमाथि नै बाइक गुडाए। भाग्य निकै बलियो रहेछ।'
यो एउटा घटना मात्र हो, मनसुनी प्रणाली सक्रिय भएयता लगातार परेको झरीले अरूणाचल प्रदेशको तल्लो सियाङ जिल्लामा ठूलो विपत ल्याइसकेको छ। त्यहाँ आसामतिर बग्ने सिजी नदीमा एउटा ठूलो पहिरो खसेर बहाव रोकिएको छ। नदी तल्लो तटीय क्षेत्रतर्फ बग्नुको साटो ढुंगा, माटो र उखेलिएका रूखहरूको थुप्रोले थुनिन पुगेको छ। यसले रातारात एउटा ठूलो ताल बनेको छ।
यसले तल्लो तटीय क्षेत्रमा बस्ने हजारौं मानिसमा चिन्ता बढाएको छ। पहिरोको अवरोध अचानक फुट्यो भने थुनिएको पानी तीव्र गतिमा तल बगेर अरूणाचल प्रदेश र आसाम दुवै राज्यमा आकस्मिक बाढी ल्याउने जोखिम बढाएको छ।
भारतीय समाचार संस्थाहरूका अनुसार जुन महिनाको अन्तिम साता (खासगरी जुन २३-२४ देखि) लगातार भइरहेको भारी वर्षाले त्यहाँ ठूलो क्षति पुर्याएको छ। कम्तिमा तीन जनाको ज्यान गइसकेको छ भने कयौं मानिस अझै बेपत्ता छन्। जुन महिनाभरिको तथ्यांक हेर्ने हो भने पहिरोका कारण ज्यान गुमाउनेको संख्या ८ पुगिसकेको छ।
अविरल वर्षा र पहिरोले अरूणाचलका २८ मध्ये १२ वटा जिल्ला नराम्ररी प्रभावित भएका छन्। हजारौं नागरिक विस्थापित छन्। राज्यका मुख्य राजमार्ग र सडकहरू दर्जनौं ठाउँमा पहिरोले बगाएका वा पुरिएका छन्। धेरै ठाउँमा पुलहरू भत्किएका छन्, जसले थुप्रै जिल्ला र गाउँहरू पूर्ण रूपमा सम्पर्कविच्छेद भएका छन्।
मनसुनी प्रणालीले अरूणाचलमा ल्याएको यो संकटपूर्ण स्थिति नेपालको निम्ति पनि चासोको विषय हो। किनभने, हामीकहाँ मनसुनको सुरूआतमै ठुल्ठूला विपतका घटना भइसकेका छन्।
मेलम्ची र संखुवासभाको भेलबाढीले तल्लो तटीय क्षेत्रमा व्यापक असर पुर्याएका थिए भने पाँचथरको याङवरकमा लेदोसहितको बाढी आएको थियो।
जल तथा मौसम विज्ञान विभागले अहिलेसम्म मनसुनी प्रणाली देशभर विस्तार भइसकेको सूचना जारी गरेको छैन। तर यसको प्रभाव देशव्यापी देखिँदै गएको छ। मौसमविद हरिप्रसाद दाहालले खासगरी पूर्वी, मध्य र केही पश्चिमी भागमा मनसुनी प्रणाली सक्रिय भएको बताएका छन्।
उनका अनुसार बंगालको खाडीबाट मनसुनी वायुका साथै पर्याप्त जलवाष्पयुक्त हावा नेपालमा भित्रिरहेकाले त्यसको प्रभावले मंगलबार र बुधबार १०० मिलिमिटर र त्योभन्दा बढी पानी पर्ने सम्भावना छ। १०० एमएमसम्मको वर्षालाई भारी वर्षाका रूपमा लिइन्छ। प्राकृतिक विपत्तिको जोखिमका हिसाबले यो सतर्क हुनुपर्ने अवस्था हो।
'मनसुनी प्रणाली सक्रिय हुँदा स्थानीय वायुको पनि कहीँ न कहीँ प्रभाव हुन्छ। यी दुवैको मिश्रणले मधेस र देशको पहाडी भेगमा भारीदेखि कतै कतै धेरै भारी वर्षासम्म गराउन सक्छ,' मौसमविद दाहालले सेतोपाटीसँग भने।
उनले बिहीबारबाट यो प्रणाली अलि कमजोर हुँदै जाने भएकाले त्यसपछि वर्षा मत्थर हुँदै जाने पनि बताएका छन्। तर मनसुन रहेसम्म यस्तो प्रणाली पटक पटक आइरहने हुँदा जोखिम कायम रहनेछ।
यसबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरिसकेको छ।
प्राधिकरणले आइतबार सूचना जारी गर्दै अकस्मात बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो।
पहिरोको जोखिममा रहेका स्थान तथा खोला/नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन पनि प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणले दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
पहाडी र तराईका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको औंल्याइएको छ।
मनसुनी गतिविधि बढेका बेला अकस्मात् बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको छ।
प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उच्च र सुरक्षित स्थानमा जान तथा सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध पनि गरेको छ।
यसबारे विपतविद धर्म उप्रेतीले पछिल्लो समय देशका विभिन्न स्थानमा मापन गरिएको वर्षा हेर्दा प्राकृतिक विपतको जोखिमका लागि सतर्क रहनुपर्ने बताएका छन्।
'मनसुनी वायु लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा केन्द्रित हुँदैछ। बिजुली चम्केको घनत्व लुम्बिनी पश्चिम तथा चुरे र तराईमा बढी देखिन्छ,' उनले भने।
मंगलबार बिहानसम्मको तथ्यांक अनुसार कञ्चनपुरको हनुमाननगरमा वितग २४ घन्टामा १३४.८ मिलिमिटर वर्षा मापन गरिएको थियो। यो भनेको धेरै भारी वर्षा हो।
त्यस्तै, बर्दियाको तारा ताल क्षेत्रमा १२२.४ एमएम वर्षा रेकर्ड गरिएको थियो भने बर्दियाकै मानपुरमा १३१ एमएम, नेपालगन्जको बेलभारमा १०१.८ र गुल्मीमा १०७.८ एमएम वर्षा भएको थियो।
विपतविद उप्रेतीका अनुसार लुम्बिनी पश्चिमदेखि सुदूर-पश्चिमी भागमा मंगलबार रातिदेखि बुधबार बिहानसम्म अत्यधिक वर्षाको पूर्वानुमान गरिएको छ। मध्य मधेसमा भने आगामी दुई दिन ठूलो वर्षा हुने सम्भावना देखिँदैन। कोशी, गण्डकी, लुम्बिनी र सुदूर-पश्चिम मा मनसुनी वर्षाको सम्भावना बढी देखिन्छ।