काठमाडौंको गोंगबुमा धारिलो हतियार दाप प्रहार भएको घटनामा प्रहरीले टाइगर भन्ने गोविन्द चन्दलाई पक्राउ गरेको छ।
टोपजंग वली भन्ने व्यक्तिमाथि दाप प्रहार भएको १२ दिनपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाँकेको कोहलपुर नगरपालिका–१५ बाट टाइगर भन्ने गोविन्दलाई पक्राउ गरेको हो।
उनलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।
रूकुम पश्चिम बाफिकोटका टोपजंग काठमाडौंको छाउनी बस्थे।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनलाई मोटरसाइकल किनबेच गर्ने विषयमा कुराकानी गर्न छ भनेर पटक पटक फोन गरी असार ४ गते काठमाडौं–२६ स्थित आत्मज्ञान प्रचार संघको पछाडि रहेको खाली जग्गामा बोलाइएको थियो।
त्यहाँ त्यस दिन टोपजंग र गोविन्दबीच भेट भएको १० मिनेटमै दाप प्रहार गरी गम्भीर घाइते बनाइएको थियो।
अहिले टोपजंग ग्रिनसिटी अस्पताल, बसुन्धारामा उपचाररत छन्। उनको हात र टाउकोमा गहिरो चोट लागेको छ।
टोपजंगमाथि ज्यान मार्ने प्रयास गरेको बारे पक्राउ परेका गोविन्दले स्वीकार गरेका छैनन्। तर प्रमाणले भने उनीतर्फै सोझाएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ।
'टाइगर भन्ने व्यक्तिले आफूले गरेको होइन भनेका छन्। तर प्रमाणले उनी नै हो भन्ने देखाइरहेको छ। घाइते रहेका व्यक्तिले अलिअलि बोल्न सक्ने भएका छन्। उनले पनि सनाखत गरिसकेका छन्,' उनले भने।
उनी नबोलेको र घाइतेको अवस्था अझै सुधार हुन बाँकी नै रहेको हुँदा कारणसमेत खुलिनसकेको प्रहरीले जनाएको छ।
घटनापछि आरोपी गोविन्द त्यहाँबाट मोटरसाइकल चढेर गोंगबुको याकपु मार्ग हुँदै पवित्रनगर, बुद्धनगर हुँदै मित्रनगर गेटबाट निस्किएको देखिएको प्रहरीले बतायो।
प्रहरीका अनुसार टोपजंगलाई फोन गर्ने नम्बर घटना हुनुअघि मलेसिया गइसकेका व्यक्तिको नाममा छ।
अनुसन्धानको क्रममा नम्बरमा प्रयोग भएको रिचार्ज कार्ड घटना भएको साँझ टोखा नगरपालिका–भण्डारी टोलस्थित एक किराना पसलबाट किनेको देखिएको थियो। त्यहाँ रहेको सिसिटिभी फुटेजमा टाइगर भन्ने गोविन्द देखा परेका हुन्।
गोविन्दले सोही लोकेसनबाट टोपजंगलाई पहिलो पटक त्यस साँझ ६:०६ र दोस्रो पटक ६:४५ मा कल गरेको र चिया पसलबाट बाहिरिएको देखिएको थियो।
त्यहाँबाट गोंगबु आवास क्षेत्रको गेटमा पुगेर टोपजंगलाई लिएर गएको समेत देखिएको प्रहरीले जनाएको छ।
पछि उनी त्यहाँबाट बाहिरिएर ठमेलतर्फ गएको अनुसन्धानमा देखिएको हो। त्यसपछि उनी भोलिपल्ट बन्स्थली हुँदै रूकुम गएको देखिएको हो।
घटना सम्बन्धी थप अनुसन्धानका लागि उनलाई प्रहरी वृत्त महाराजगन्जमा बुझाइएको छ।