गुल्मीमा जंगली बँदेलका लागि थापेको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ।
जंगली बँदेलबाट बालीनाली जोगाउन जिल्लाको धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले मंगलबार बेलुकीपख घरदेखि करिब डेढसय मिटर टाढा आफ्नै बारीमा बिजुलीको धराप थापेका थिए ।
धरापमा परी भेषराजकी ६० वर्षीया श्रीमती हुमकला भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
बिहान करिब साढे १ बजेतिर हुमकला विद्युतीय धरापमा परेकी थिइन्।
करेन्ट लागेर गम्भीर घाइते अवस्थामा हुमकलालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएकोमा चेकजाँचपछि बिहान सवा ३ बजेतिर चिकित्कसले मृत घोषणा गरेका थिए ।
प्रहरीले विद्युतीय धराप थाप्ने भेषराजलाई नियन्त्रणमा लिएको छ।
अनुसन्धानमा खटिउका प्रहरी अधिकारीका अनुसार श्रीमानले विद्युतीय धराप थापेको कुरा हुमकलालाई पनि थाहा थियो।
उनी मध्यरातमा ब्युँझिएपछि धरापमा बँदेल पर्यो कि भनेर एक्लै हेर्न गएकी थिइन्।
गल्तीबस त्यही समय उनले विद्युतीय धराप छुन पुग्दा उनलाई करेन्ट लागेको भन्ने प्रारम्भिक अनुसन्धान बाट खुलेको डिएसपी विश्वकर्माले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।