औषधि व्यवस्था विभागले रेबिज खोपको अभावबारे जानकारी नभएको जनाएको छ।
विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले देशमा रेबिज खोपको अभाव भएको भन्ने विषयमा विभागमा आधिकारिक जानकारी नआएको बताइन्।
उनले सरकारी खरिद (प्रोक्योरमेन्ट) प्रक्रिया केही ढिलो हुँदा खोप आपूर्तिमा असर परेको हुनसक्ने उल्लेख गर्दै हाल खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइन्।
उनका अनुसार नेपालमा प्रयोग हुने अधिकांश खोप विदेशबाट आयात हुने गरेका छन्।
स्वदेशमा पशु चिकित्सा (भेटेरिनरी) खोप मात्र उत्पादन हुने र मानव प्रयोगका सबै खोप आयातमै निर्भर रहेको उनको भनाइ छ।
उनले भने, ‘रेबिज खोपको अभावको विषय अलिकति उठिरहेको छ। विभागमा अभाव रहेको भन्ने कुनै जानकारी आएको छैन। यो गभर्मेन्ट प्रोक्युरमेन्टको प्रक्रियामा अलि ढिलो भएको हो तर अब अहिले त लगभग भइसक्यो जस्तो लाग्छ।’
उनले खोप आवश्यक परेमा विभागले विशेष सिफारिसमार्फत् उपलब्ध गराउने पनि जानकारी दिइन्।
खुला सीमाका कारण गुणस्तरहीन औषधिको जोखिम
भारतसँगको खुला सीमाका कारण नेपालमा दर्ता नभएका तथा गुणस्तरहीन औषधि र खोप नेपाल भित्रिने गरेको छ।
निमित्त महानिर्देशक खड्गीले सीमावर्ती भन्सार बिन्दुमा विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको स्थायी उपस्थिति नहुँदा प्रभावकारी नियमन गर्न कठिन भइरहेको बताइन्।
उनका अनुसार विभागले नियमित अनुगमन तथा कारबाही गरिरहेको भए पनि जनशक्ति अभावका कारण आवश्यक स्तरको नियमन गर्न चुनौती छ।
उनले भनिन्, ‘ओपन बोर्डरका कारणले कतिपय खोप र औषधिहरू नक्कली आउने गरेको विभागको नोटिसमा छ। अहिले रिसेन्टली पनि एउटा सेरोफ्लो भन्ने नक्कली औषधि आइरहेको छ। खुला बोर्डरको कारणले भन्सार बिन्दुमै अब औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको समस्थिती नहुँदाखेरिी नियमनमा हामीलाई गाह्रो भएको छ।’