काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगलमा बिनाशल्यक्रिया तार (कोइल र स्टेन्ट) विधिबाट मस्तिस्कको रक्तस्रावको सफल उपचार सफल उपचार गरिएको छ।
भक्तपुरको चाँगुनारायणकी ४५ वर्षीया शान्ति रावतको मस्तिस्कमा भएको रक्तस्रावको न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडल नेतृत्वको टीमले शल्यक्रिया गरेको हो।
अचानक बेहोस भएपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको थियो।
अस्पतालमा गरिएको सीटी स्क्यान तथा अन्य परीक्षणले मस्तिष्कको देब्रे भागमा रक्तस्राव भएको देखाएको थियो।
अवस्था जटिल र जोखिमपूर्ण रहेकाले परिवारको सहमतिपछि शीर नखोली रक्तनलीभित्रैबाट कोइल र स्टेन्ट प्रयोग गरी रक्तस्राव नियन्त्रण गर्ने उपचार गरिएको अस्पतालले जनाएको छ।
लामो र सुक्ष्म प्रक्रियापछि उपचार सफल भएको र रक्तस्राव नियन्त्रणमा आएको चिकित्सकहरूले बताएका छन्।
उपचारपछि केही दिन टाउको दुख्ने समस्या रहे पनि क्रमशः सुधार हुँदै गएपछि शान्ति पूर्ण रूपमा होसमा फर्किएकी थिइन्।
जमेको रगत पनि विस्तारै सोसिँदै गएपछि उनलाई स्वास्थ्य लाभसहित डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।