जुम्लामा भेडा बाख्रा चराउन पाटनमा गोठालो गएका एक युवाको चट्याङले लागेर मृत्यु भएको छ। थप दुई जना सामान्य घाइते भएका छन्। चट्याङले २३ वटा भेडा पनि मरेका छन्।
जिल्लाको हिमा गाउँपालिका–२ स्थित एनसिएल टावर नजिकै चट्याङ परी भेडा गोठाला गएका हिमा – २ का १८ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको थियो।
जुल्लाका प्रहरी प्रमुख डिएसपी चिरञ्जीवी दाहालका अनुसार सँगै गोठालो गएका स्थानीय २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया सामान्य घाइते भएका थिए।
घाइते मध्य जगत रोकाया बिहीबार बिहान एक्कासि बेहोस भएपछि उपचारको लागि हिमा गाउँपालिकाको एम्बुलेन्सबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तर्फ पठाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक निर्देश बरालले बताए ।
बरालका अनुसार मृतक रवीन्द्र रावतका १० वटा बिर्ख रोकायाको ३ वटा , रामबहादुर रोकायाका ३ वटा, जगत रोकायाका ५ वटा, खड्का रोकायाका २ वटा गरी कुल २३ वटा भेडा मरेको अवस्थामा बिहीबार बिहान फेला परेका हुन्।
हराएका मध्य २२७ वटा भेडा भने बिहान सकुशल फेला परेको प्रहरी निरीक्षक बरालले बताए।
बुधबार दिउँसो ४ बजेतिर परेको चट्याङ बारे प्रहरीले बेलुकी साढे ८ बजेमात्रै सूचना पाएको थियो। स्थानीय रंगबहादुर रोकायाले चट्याङले एकजना मानिस र भेडाहरु मरेको भनेर प्रहरी चौकी बड्कीमा खबर गरेका थिए।
त्यो सूचनाको आधारमा प्रहरी चौकी वड्कीबाट प्रहरी सहायक निरीक्षक लालबहादुर रोकाया नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकी वड्कीबाट ६/७ घन्टा पैदल उत्तर पर्ने र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट अन्दाजी ७५ किलोमिटर उत्तरमा थियो ।
बिहीबार बिहान जिल्लाबाट प्रहरी प्रवक्ता बराल नेतृत्वको ५ जनाको टोली घटना स्थल पुगेको थियो।
यता बुधबार बेलुकी साढे ५ बजेतिर परेको चट्याङले दाङको दंगीशरण गाउँपालिका – ४ मौलीमा गाभिनो भैंसी घटनास्थलमै मरेको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार उक्त भैँसी स्थानीय पबित्रा बोहराको हो। रणका लागि पंगा लगाइ राखेको भैँसी माथि चट्याङ परेको थियो।