सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई बिहीबार बिहान ट्राफिक प्रहरीले कार्यालयमै पुगेर पाँच सय रुपैयाँ जरिवाना तिराएको छ। कैलाली जिल्ला ट्राफिक प्रहरी निरीक्षक रेशमप्रसाद आचार्य नेतृत्वको टोलीले मुख्यमन्त्रीको कार्यकक्षमा पुगेर जरिवाना गराएको हो।
१६ गते बेलुका ८ बजेतिर एक जना आफन्त बाइक चलाएर मुख्यमन्त्री शाहको निवासमा भेट्न पुगेका थिए। मुख्यमन्त्री शाहलाई गत हिउँददेखि खुट्टाको हड्डीको समस्या देखापरेको थियो। उनले नेपालका विभिन्न अस्पतालका साथै दिल्लीको म्याक्स अस्पतालमा उपचार तथा परामर्श लिँदै आएका छन्। चिकित्सकको सल्लाह अनुसार उनी वाकरमा हिँड्ने गर्छन्। चिकित्सकले मुख्यमन्त्री शाहलाई पछिल्लो समय थप मुभमेन्ट गर्न परामर्श दिँदै आएका थिए।
आफन्तले बाइक ल्याएको देखेपछि मुख्यमन्त्री शाहलाई जवानीमा मोटरसाइकल कुदाएको याद ताजा भयो। उनले 'म मोटरसाइकल कुदाउन सक्छु कि सक्दिनँ' भन्ने दुविधा अन्त्य गर्न मंगलबार बेलुकी मुख्यमन्त्री निवासको परिसरभित्रै केहीबेर बाइक कुदाए। तर, उनले बाइक चलाउँदा हेलमेट लगाएका थिएनन्। मुख्यमन्त्री शाहले बाइक चलाएको त्यो भिडिओ उनका स्वकीय प्रयागराज खनालले बनाएका थिए। मुख्यमन्त्री शाह स्वास्थ्यका दृष्टिकोणले फिट छन् भन्ने सन्देश जाओस् भन्ने सोचका साथ प्रयागराजले त्यो भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे।
जब त्यो भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भयो, त्यसबारे चर्चा परिचर्चा भयो। धेरैले उनले हेलमेट बिना मोटरसाइकल कुदाएको भन्दै आलोचना गरेका थिए। सामाजिक सञ्जालमा छाएको उक्त भिडिओ सर्वसाधारणले ट्राफिक प्रहरी अधिकारीलाई पठाइदिएका थिए।
त्यो देखेपछि ट्राफिक प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले मुख्यमन्त्री शाहको सचिवालयसँग समन्वय गरे। मुख्यमन्त्री शाहले पनि अन्जानमा लापरबाही हुन पुगेको सहजै स्वीकार गरे। जरिवाना तिर्न आफू राजी भएको भन्दै उनले सानो लापरबाहीले पनि ठूलो दुर्घटना हुन सक्छ भन्ने सन्देश प्रवाह होस् भन्ने हेतुले पत्रकार सम्मेलन नै गरे। उनले गल्ती गोप्य रूपमा मिलाउन चाहेनन्, बरू पत्रकार सम्मेलन गरी गल्ती भएको स्वीकार गरे।
'नियम सबैलाई बराबर हो, मैले गल्ती गरेको थिएँ र मैले जरिवाना तिरेँ,' मुख्यमन्त्रीले पत्रकार माझ भने, 'जतिसुकै ठूलो पदमा बसेको भए पनि नियमको पालना सबैले गर्नुपर्छ।'
ट्राफिक प्रहरी निरीक्षक आचार्यका अनुसार मुख्यमन्त्री शाहले गल्ती सहज रूपमा स्वीकार गर्दै सचेत तुल्याएको भन्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए।
'हामीले मुख्यमन्त्रीलाई हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइएकाले जरिवाना स्वरूप पाँच सय रुपैयाँको चिट काटेर आएका छौँ,' उनले भने, 'इसेवामार्फत त्यो पैसा पठाउने वाचा उहाँले गर्नुभएको छ।'
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ।
सवारी ऐन अनुसार हेलमेट नलगाई मोटरसाइकल चलाउने व्यक्तिलाई जरिवाना स्वरूप पहिलो पटकमा ५०० रुपैयाँ, दोस्रो पटकमा १,००० र तेस्रो पटक पनि दोहोरिए १,५०० रुपैयाँसम्म जरिवाना लिन सकिने व्यवस्था छ। सोही व्यवस्था अनुसार मुख्यमन्त्री शाहले पहिलो पटक गल्ती गरेकाले ५०० रुपैयाँ जरिवाना तिराइएको हो।