कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागार चलान भएका छन्।
प्रहरीले उनलाई बिहीबार बिहान ७ बजेतिर भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरेको थियो।
पुरानो गाली बेइज्जती मुद्दामा अदालतको फैसला कार्यान्वयन लागि पत्रकार भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो।
जिल्ला अदालत कञ्चनपुरले गाली बेइज्जती मुद्दामा भण्डारीलाई २०८२/०२/०१ गते १ महिना कैद सजाए र १० हजार जरिवानाको फैसला सुनाएको थियो।
उच्च अदालत दिपायलको महेन्द्रनगर धनगढी इजलासले २०८२/१२/२२ गते जिल्ला अदालतको फैसला केही उल्टी गर्दै थप ७ दिन कैद र २ हजार १०० जरिवाना थप गरिदिएको थियो। जसअनुसार पत्रकार भण्डारीले कुल १ महिना ७ दिन कैद सजाय र १२ हजार १०० जरिवाना तिर्नुपर्ने छ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार पक्राउपछि पत्रकार भण्डारीलाई जिल्ला अदालत कञ्चनपुरमा पेस गरिएको थियो।
अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि अदालतले पत्रकार भण्डारीलाई बिहीबार बेलुकी जिल्ला कारागारमा चलान गर्न आदेश दिए अनुसार कारागारमा पठाइएको एसपी गिरीले बताए।
किरण विष्टले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा आफूलाई जोडेर भ्रामक समाचार लेखेको भन्दै पत्रकार भण्डारी विरूद्ध अदालतमा मुद्दा दायर गरेका थिए।
किरण कञ्चनपुरका तत्कालीन एसपी तथा एसएसपीबाट रिटायर्ड दिल्लीराज विष्टका छोरा हुन्।
पत्रकार विष्टले दायर गरेको मुद्दामा अदालतले पत्रकार भण्डारीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको थियो।
कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरेको अवस्थामा भीमदत्त नगरपालिकाको निम्बुखेडा खोला किनारको उखुबारीमा २०७५/०४/१० गते शव फेला परेको थियो।
पन्तका हत्यारा अझैसम्म पत्ता लागि सकेका छैनन्।