कैलालीको कर्णाली नदीमा सोमबार बिहान फेला परेका दुई शव दैलेखमा भएको बस दुर्घटनासँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ।
लम्कीचुहा नगरपालिका–३, चिसापानी नजिक गोराङ्गे क्षेत्रमा भेटिएकी किशोरी सुर्खेतको भेरीगंगा नगरपालिका–८ की १५ वर्षीया स्न्याहा सुनार भएको अनुमान गरिएको छ। उनी साउन २० गते भेरी नदीमा दाउरा टिप्ने क्रममा बगेर बेपत्ता भएकी थिइन्। प्रहरीका अनुसार शवको हुलिया परिवारले दिएको विवरणसँग धेरै मिलेको छ भने अन्तिम पहिचानका लागि परिवार घटनास्थलतर्फ आउँदैछ।
इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक मिरा खड्काका अनुसार हालसम्म त्यो शव सुनारकै भएको भन्ने छ।
‘घर परिवारले पठाएको विवरणहरू र किशोरीको शवसँग लगभग शतप्रतिशत म्याचिङ छ,’ खड्काले भनिन्, ‘सुर्खेतबाट अभिभावक शवको पहिचान र सनाखतका लागि आइरहनु भएको छ।’
प्रहरीले यसअघि नै गोराङ्गेस्थित कर्णाली नदीमा फेला परेको शव गाडी दुर्घटनासँग सम्बन्धित नरहेको बताइसकेको थियो।
यस्तै, मोहन्याल गाउँपालिका–६, सोल्टा क्षेत्रमा फेला परेको करिब ३०–३५ वर्षका पुरूषको शव पनि दैलेख दुर्घटनामा बेपत्ता सहचालकको नभएको परिवारले पुष्टि गरेको छ। प्रहरीका अनुसार परिवारले शव आफ्नो सदस्यको नभएको बताएपछि फर्किएको छ।
प्रहरीले उक्त पुरूषको शव कालिकोटका कुनै व्यक्तिको हुन सक्ने आशंका गर्दै पहिचानका लागि परिवारलाई बोलाएको जनाएको छ।
यसअघि फेला परेका यी दुई शव दैलेख दुर्घटनापछि कर्णाली नदीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको थियो। तर हालसम्मको अनुसन्धानले दुवै शव दुर्घटनासँग सम्बन्धित नरहेको देखिएको प्रहरीले जनाएको छ।
असार १८ गते सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुबाहक बस दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ मा कर्णाली नदीमा खस्दा चालक, सहचालक सहित चार जना अझै बेपत्ता छन्।
दुर्घटनामा एक जनाको शव घटनास्थलमै फेला परेको थियो भने सुरक्षा निकायले गोताखोर सहित बेपत्ताहरूको खोजी जारी राखेको छ।
असार १८ गते बिहानीपख सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ स्थित सडकबाट कर्णाली नदीमा खसेको थियो।
त्यो दुर्घटनामा परी गाडी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका अन्दाजी २८ वर्षीय तुलसीराम सुवेदी, सहचालक समेत रहेका उनका सहोदर दाइ अन्दाजी ३१ वर्षीय रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँकी अन्दाजी १८ वर्षीया सिर्जना खड्का र कालीकोट पाचल झरना गाउँपालिका– ९ का अन्दाजी ३३ वर्षीय मेखे तिरूवा बेपत्ता छन्।
सोही दुर्घटनामा क्रममा भीरमा अड्किएको अवस्थामा कालीकोटका पाचल झरना गाउँपालिका–९ का ४५ वर्षीय जेखे तिरूवा मृत फेला परेका थिए। मंगलबार दुर्घटनाको सोमबार ५ औं दिन हो।
सुरक्षा अंगका तीन वटै निकाय मिलेर गोताखेर सहित उनीहरूको खोजी कार्य जारी छ।