बझाङमा असार १९ गते एकैदिन भएका दुई छुट्टाछुट्टै हत्या घटनामा मदिरा सेवन र क्षणिक आवेग मुख्य कारण रहेको प्रहरीले जनाएको छ।
पहिलो घटना केदारस्युँ गाउँपालिका–६ मा भएको हो। स्थानीय तीन जना आफन्तले सँगै मदिरा सेवन गरेर घर फर्किने क्रममा सामान्य भनाभन भयो। विवाद बढ्दै जाँदा गोपाल बोहराले ढुंगाले प्रहार गर्दा ४२ वर्षीय मोहनबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि गोपाल र जनक बोहराले शव नजिकैको मकैबारीमा लगेर फालेका थिए। भोलिपल्ट बिहान मोहनको शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरू गरी मुख्य अभियुक्त गोपाल र जनकलाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार पक्राउ परेका दुवैले विवाद के कारण सुरू भएको थियो भन्ने पनि आफूहरूलाई याद नभएको बताएका छन्। मदिराको नशामा सामान्य भनाभनले ज्यान जाने अवस्था सिर्जना भएको प्रहरीको निष्कर्ष छ।
दोस्रो घटना दुर्गाथली गाउँपालिका–३ स्थित एक विद्यालयमा भएको थियो। मदिरा सेवन गरेका २५ वर्षीय सन्तोष भनिने सिंहराज धामीले विद्यालयमै शिक्षक मदन धामीमाथि कुटपिट गरेका थिए।
झगडा छुट्याउन गएका उनका बुवा ५८ वर्षीय गगन धामीलाई पनि चिर्पट लागेर गम्भीर चोट लागेको थियो। उपचारका लागि धनगढी लगिएका गगनको भोलिपल्ट मृत्यु भएपछि प्रहरीले सन्तोषलाई पक्राउ गरेको छ।
बझाङका प्रहरी प्रमुखका अनुसार दुवै घटनामा मदिरा सेवनपछि आवेग नियन्त्रण गर्न नसक्दा दुःखद अवस्था सिर्जना भएको हो। प्रहरीले मदिरा र लागुऔषधको दुरूपयोगका कारण यस्ता अपराध बढ्दै गएको भन्दै नियन्त्रणमा सबैको सहकार्य आवश्यक रहेको जनाएको छ।
दुवै घटनाका अभियुक्तविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।