नगरकोटस्थित खानेपानी तालिम केन्द्रको होल्डिङ सेन्टरमा बसेकी २९ वर्षीया सुशीला राईले सोमबार साँझदेखि खाना बन्द हुने भएपछि सेन्टर छाडेकी छन्।
'दुई वर्षको छोरा छ, आफू भोकभोकै बसे पनि सन्तानलाई भोकै राख्न नसकेर हिँडेँ,' उनले भनिन्।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार ८ गते सूचना जारी गरेपछि नै केही परिवारले सेन्टर छाडिसकेका थिए। दोस्रो पटक म्याद सकिँदासम्म आधाभन्दा बढीले सेन्टर छाडिसकेको उनी बताउँछिन्।
उनका अनुसार सेन्टरमा २१ परिवारलाई राखिएको थियो। तीमध्ये ९/१० परिवार सरकारबाट २५ हजार रूपैयाँ प्राप्त हुनासाथ होल्डिङ सेन्टर छाडेर गइसकेका थिए।
'जाने ठाउँ नभएकाहरू पनि खाना बन्द हुने भएपछि निस्किन बाध्य भयौं,' सुशीलाले भनिन्, 'प्रायः सबैका बच्चा छन्। यहाँ बसेर के गर्नू?'
सबै जना निस्किने सल्लाह भएपछि बागमती सभ्यता समितिले गाडीको व्यवस्था गरिदिएको थियो। ८/९ परिवार त्यही बस चढेर काठमाडौं आए। सुशीला भने आफन्तले कोठा खोजिदिने भएपछि भक्तपुरको सल्लाघारीमा ओर्लिइन्।
५९ वर्षीया मीना दर्नाल सहितका सुकुम्बासी समितिकै बसमा कोटेश्वर आइपुगे। उक्त बसले बाटोमा ओर्लिन चाहनेहरूलाई झार्दै दिउँसो २ बजे कोटेश्वर पुर्याइदिएको थियो। त्यसपछि सबै आ-आफ्नो बाटो लागे।
'मेरो छोराबुहारी बालकुमारीमा बस्ने भएकाले म त्यतै आएँ,' मीनाले भनिन्।
असार ८ गते पहिलो पटक सूचना टाँसेपछि पटक पटक म्याद मात्र थपियो, तर सुकुम्बासीका कुरा सुन्न कोही आएनन्। त्यसपछि त्यहाँ बस्नुभन्दा बाहिरैबाट सरकारलाई दबाब दिने मनसायले सेन्टर छाडेको उनी बताउँछिन्।
विदा हुनु एक दिनअघि आइतबार राति बाँकी सुकुम्बासीले एकसाथ खाना खाँदै तीन महिनाका सुख-दुःख साटेका थिए।
'आ-आफ्नो व्यवस्था गर्नू, आजदेखि खाना हुँदैन भनेपछि निस्किन बाध्य भयौं,' ४८ वर्षीया गंगा विकले भनिन्।
खानपिन नहुने र होल्डिङ सेन्टर बन्द हुने भएपछि ५ वर्षका नातिको बिजोग हुने डरले आफूले जिद्दी नगरी सेन्टर छाडेको उनको भनाइ छ। उनी अहिले आफू बस्ने पुरानो ठाउँ शान्तिनगरतिर कोठा खोज्दै छिन्। कोठा नपाएसम्म आफन्तकहाँ बस्ने सोच छ।
५३ वर्षीया इन्दिरा मगर भने १९ गते नै सेन्टरबाट फर्किएकी थिइन्।
'सुकुम्बासी प्रमाणित भएपछि मासिक रकम दिने र अहिले आफै व्यवस्थापन गर्न आग्रह गरेपछि हामी हिँड्यौं। सरकारले हेर्ने नै भएपछि एकान्तमा बसिरहन मन लागेन,' उनले भनिन्।
सोमबार बाँकी परिवार पनि बाहिरिएपछि नगरकोटको होल्डिङ सेन्टर पूर्ण रूपमा खाली भएको त्यहाँ खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन्।
बागमती सभ्यता समितिका इन्जिनियर तथा सूचना अधिकारी टोपबहादुर बानियाँले पनि नगरकोट र बोडेका होल्डिङ सेन्टर पूर्ण रूपमा खाली भइसकेको बताए।