भारतीय सवारी साधन नेपाल प्रवेशका लागि सवारी पास अनुमति अनिवार्य गरेपछि ठोरीको पर्यटन व्यवसाय प्रभावित बनेको छ।
मधेस प्रदेशकै पहिलो पर्यटकीय गाउँ ठोरी गाउँपालिकामा पर्यटक आवागमनमा अवरोध भएपछि स्थानीय विरोधमा उत्रिएका छन्।
शुक्रबार यता स्थानीय प्रशासनले सवारी पास नलिएका भारतीय नम्बर प्लेटका सवारी साधन प्रवेशमा रोक लगाएपछि उनीहरूले विरोध जनाएका हुन्।
विगतमा अस्थायी सवारी पास अनुमति नलिएका भारतीय सवारी साधनहरू समेत सहज आवागमन हुँदै आएको थियो। तर नेपाली सुरक्षाकर्मीको आग्रहमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले समेत भारत तर्फबाट आएका चार पाङ्ग्रे सवारी साधनलाई भारततर्फ नै फर्काउने गरेको छ।
भारतीय पर्यटकका लागि ठोरी प्रमुख पर्यटकीय आकर्षणको रूपमा स्थापित गन्तव्य हो।
उनीहरूलाई लक्षित गरेर नै ठोरीमाम दर्जनौं होटल तथा रिसोर्टहरू संचालनमा ल्याइएको छ।
होटल तथा रिसोर्टहरूले स्थानीय स्तरमा रोजगारी सृजना गर्नुको साथै स्थानीय स्तरमा उत्पादन हुने तरकारी, दुधदही, पशुपन्छी खरिद गरेर अर्थतन्त्रलाई चलायमान पनि बनाउँदै आएको छ।
ठोरी क्षेत्रमा होटल, रिसोर्ट, होमस्टे, पर्यटन सेवा, यातायात तथा अन्य पूर्वाधारमा १ अर्बभन्दा बढी लगानी भइसकेको व्यवसायीहरू बताउँछन्।
भारतीय पर्यटकका सवारी साधन प्रवेशमा रोक लागेपछि व्यवसाय प्रभावित भएको व्यवसायीहरूको गुनासो छ।
उनीहरूका अनुसार दैनिक दुई सय भन्दा बढी निजी भारतीय सवारी साधनमा पर्यटकहरू आउने गरेकोमा सुरक्षाकर्मीले कडाइ गरेपछि ठप्प जस्तै बनेको छ। ६८ किलोमिटर खुला सीमा रहेको ठोरीमा छोटी भन्सार भएपनि बन्द अवस्थामा छ।
पर्यटन विकास समिति ठोरीका सचिव रवि पौडेल नेतृत्वको टोलीले सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ज्ञापनपत्र समेत बुझाएको छ।
ज्ञापनपत्रमा ठोरीस्थित नेपाल भारत सीमा नाकामा पर्यटकको आवागमन तत्काल सुचारु गर्नुपर्ने, सीमा नाकाबाट पर्यटकलाई अनावश्यक रूपमा फर्काउने कार्य बन्द गर्नुपर्ने, ठोरी छोटी भन्सार कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्था गरी नियमित रूपमा सञ्चालनमा ल्याउनुपर्ने, पर्यटक प्रवेश, राजस्व संकलन तथा सुरक्षा व्यवस्थापनलाई समन्वयात्मक रूपमा प्रभावकारी बनाउनुपर्ने र ठोरीलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरकारी सहयोग र समन्वय हुनुपर्ने माग राखिएको छ।
‘तीन दिनदेखि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले पर्यटकलाई सीमा नाकाबाटै प्रवेश गर्न नदिई पकाईरहेको अवस्था छ, यसकारण नेपाल भ्रमणमा आएका भारतीय पर्यटक निराश भई फर्कन बाध्य भएका छन्। यसले होटल तथा पर्यटन व्यवसायमा गम्चीर आर्थिक क्षति पुगेको छl’ ज्ञापनपत्रमा उल्लेख छ।
सीमा नाका अवरूद्ध हुँदा पर्यटन व्यवसाय मात्रै नभई स्थानीय व्यापार, कृषि उत्पादनको बजार तथा समग्र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पर्ने होटल तथा पर्यटन व्यवसायी हिरा श्रेष्ठ बताउँछन्।
ठोरी छोटी भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन गरेमा ठोरी र आसपासका क्षेत्रका नागरिकलाई मात्रै नभई राज्यको राजश्व संकलनमा समेत सकारात्मक योगदान पुग्ने ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको भनाई छ।
‘पर्यटकको सहज आवागमन सुनिश्चित गर्न ठोरी भन्सारबाटै अस्थायी सवारी पास दिने व्यवस्था मिलाउनुपर्छ, त्यसो हुँदा भारतीय पर्यटकलाई सहज हुन्छl स्थानीय पर्यटन उद्योगको विकासमा सकारात्मक योगदान पुग्छ,’ उनले भने।
पर्सा क्षेत्र नं ४ का प्रतिनीधि सभा सदस्य टेक बहादुर शाक्यले ठोरी, जानकी टोला र भिश्वा छोटी भन्सार सञ्चालनमा ल्याउन र ठोरीमै सवारी साधनको इन्ट्री गरी निस्सा पत्रको व्यवस्था मिलाउन सोमबारको संसदमा माग समेत गरेका थिए।
सशस्त्र प्रहरी बल नेपाल, १३ नं हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीले नेपालमा सवारी साधन सञ्चालनका लागि अस्थायी अनुमति पत्र नलिएका भारतीय सवारी साधनलाई रोकेर कानुनमा भएको व्यवस्थालाई कार्यान्वयन गरिएको जानकारी दिएl ‘ ठोरी मात्रै हैन, भिश्वा, जानकीटोला नाकाबाट समेत अस्थायी पास नलिएका भारतीय सवारी साधनलाई प्रवेश गर्न दिइएको छैनl’ उनले भने, ‘जन्ती बोकेका, मृत्यु संस्कारमा आएको, विरामी बोकेका सवारी साधनलाई मात्रै सहजीकरण गरेका छौं।’
पर्सामा मात्रै ५ हजार जति भारतीय मोटरसाइकल र ४ सयको हाराहारीमा चार पाङ्ग्रे सवारी साधन गुड्ने गरेको सुरक्षा निकायको अनुमान छl
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर अस्थायी सवारी अनुमति नलिएका सवारी साधनलाई मात्रै नेपाल प्रवेशमा रोक लगाएको बताए।
‘भारतीय सवारी नेपाल आएपछि दुर्घटना हुन सक्छ, अवैध सामाग्री, हतियर लिएर आएको हुन सक्छ, अपराधिक गतिविधिमा संलग्न हुन सक्छ, भारतमा अपराधिक गतिविधिमा संलग्न भएर नेपाल आएको पनि हुन सक्छl सुरक्षा संवेदशीलता पनि छ,’ उनले भने, ‘ भारतीय गाडी लिएर मानिसहरु नेपाल आउँदा को को आए? किन आए? कति दिन बसे भन्ने जानकारी नेपालसँग हुनुपर्छl त्यसैले कानुनमा भएको व्यवस्था अनुसार नै अनुमति नलिएका सवारी प्रवेशमा रोक लगाएका हौंl’
कानुनी प्रक्रिया पुरा गरी आएका भारतीय सवारी साधनलाई सुरक्षा निकायले कुनै अवरोध नगरेको उनको भनाई छl पर्यटन विकास समिति ठोरीले बुझाएको ज्ञापपत्रबारे आफूले माथिल्लो निकायलाई जानकारी गराएको पनि उनले बताएl
भारत वा तेस्रो मुलुकमा दर्ता भएका सवारी साधन नेपाल ल्याउँदा भन्सार विभागको अस्थायी सवारी आयात पोर्टलबाट अनलाइन वा सिधै तोकिएको भन्सार कार्यालयमा पुगेर अस्थायी सवारी पास लिनुपर्ने व्यवस्था कानुनी व्यवस्था छl
भारतीय नम्बर प्लेटका सवारी साधनहरू कार, जिप, भ्यान, मोटरसाइकल, ट्रक, ट्याक्टर आदि तोकिएको भन्सार महशुल÷दस्तुर बुझाएर नेपालमा अस्थायी रूपमा सञ्चालनका लागि अनुमति पाउँछन्l
त्यसरी अनुमति लिएका सवारी साधनहरू पनि एक क्यालेन्डर वर्षमा बढीमा ३० दिन मात्र नेपालमा बस्न पाइन्छl शुल्क तिरेर पनि वर्षमा ३० दिनभन्दा बढी बस्ने अनुमति पाइँदैनl सीमावर्ती बजार वा स्थानीय तहसम्म एक दिनका लागि मात्र आउने भारतीय सवारी साधनहरूले कुनै भन्सार महशुल बुझाउनु पर्दैनl तर, उनीहरूले भन्सार कार्यालयमा आफ्नो सवारी दर्ता गराई पास लिनुपर्छl यस्ता सवारी साधन सोही दिन भारत फिर्ता भइसक्नु पर्छl
नेपालमा रात बिताउने हो भने तोकिएको दस्तुर बुझाएर अस्थायी अनुमति पत्र लिनुपर्ने अनिवार्य व्यवस्था छl
साधन अनुमति नलिई नेपाल प्रवेश गरेमा वा अनुमति पत्रको म्याद सकिएर पनि नेपालमै रहेका भारतीय सवारी साधनलाई भन्सार ऐन र नियम अनुसार अवैध मानिन्छ र सुरक्षा निकायले कानुन बमोजिम कारबाही गर्न सक्छl