कैलाली, धनगढीका १० वर्षीय बालकको हत्या घटनाका मुख्य आरोपी पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–१७, धर्जनाका १० वर्षीय तनुज चौधरी असार १० गते साँझ ५ बजेदेखि बेपत्ता थिए।
धान रोपाइँ चलिरहँदा बुवालाई खेतमा भेटेर साइकलमा एक्लै घर फर्किरहेका बालक बेपत्ता भएका थिए। उनको शव असार १२ गते स्थानीय कालिका सामुदायिक वनमा विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको थियो।
घटनापछि गौरीगंगा नगरपालिका–६ का २५ वर्षीय खगेन्द्र भनिने खेमराज कठायत फरार थिए।
कठायत धनगढी उपमहानगरपालिका–२ स्थित नेपाल–भारत भन्सार रोडबाट सोमबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।
हत्या गरिएका बालक तनुजको कानको मुन्द्रा फेला परेको थिएन। बुबा मीनराज चौधरीका अनुसार तनुजको दाहिने कानमा करिब २ आनाको सुनको मुन्द्रा थियो।
सोही मुन्द्रा लुट्नका लागि आफूले बालकको हत्या गरेको प्रारम्भिक बयानका क्रममा खेमराजले स्वीकार गरिसकेको डिएसपी तिमिल्सिनाले बताएका छन्। खेमराज लागुऔषध सेवनकर्ता भएको तथ्य यसअघि नै प्रहरीले बताइसकेको थियो।
उनले लागुऔषध खरिद गर्ने पैसाको जोहो गर्न बालकको हत्या गरी कानको मुन्द्रा निकालेर लगेको तथा त्यो मुन्द्रा कुनै ठाउँमा लुकाएर राखेको बयान गरेका छन्।
अब मुन्द्राको खोजी गरिने डिएसपी तिमिल्सिनाले बताए।
प्रहरी स्रोतका अनुसार बालकका हत्या आरोपी खेमराज सोमबार मात्रै छिमेकी देश भारत छिरेका थिए। भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउपछि नेपाल ल्याइएको हो।
प्रहरी अनुसन्धानबाट हत्या आरोपी खेमराजले उनै बालक तनुजले स्थानीय खोलामा मारेका गंगटा उनका बुबा लगायत खेतमा काम गर्ने अन्य व्यक्तिहरूसँगै पोलेर खाएका थिए।
त्यो बेला उनले सँगै मदिरा पनि सेवन गरेका थिए। प्रहरीले घटना अनुसन्धानका लागि सँगै गंगटा खाएका एक नाबालकसहित अन्य केहीलाई पनि नियन्त्रणमा लिएको छ।
यद्यपि उनीहरूको घटनामा कुनै संलग्नता खुल्न नसकेको अधिकारीहरूले बताएका छन्।
बुवालाई धान रोपाइँको काममा ढिलाइ हुन भएपछि बेलुकी तनुज एक्लै फर्किँदै गर्दा खेमराजले जंगलमा एक्लै फेला पारी उनीमाथि ढुंगा प्रहार गरी विभत्स हत्या गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका खेमराजलाई प्रहरीले मंगलबार म्याद थपका लागि अदालतमा लैजाने भएको छ।