जिल्ला अस्पताल अर्घाखाँचीमा मिर्गौलाको डायलासिस सेवा सञ्चालनको तयारीमा रहेको छ।
लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची सँगै गुल्मीको दक्षिणी क्षेत्र र प्युठानको पूर्वी क्षेत्रका बिरामीहरूलाई सहज सेवा दिने उद्देश्यले जिल्ला अस्पताल सन्धिखर्कमा डायलासिस सेवा सञ्चालन गर्ने काम अगाडि सारेको थियो।
सोही अनुरूप अस्पतालमा डायलासिस सेवाका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडान गर्ने काम भइरहेको छ। सेवा सुरू भएपछि मिर्गौलाका बिरामीले नियमित सहज सेवा पाउने छन्।
अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीका अनुसार डायलासिस सेवाका लागि अत्यावश्यक पानी शुद्धीकरण गर्ने प्रणाली जडानको काम सुरू भइसकेको तिवारीले बताए।
डायलासिस सेवाको गुणस्तर सुनिश्चित गर्न आर ओ प्रणाली अनिवार्य मानिने भएकाले यसको स्थापना कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए।
तिवारीका अनुसार प्रारम्भिक चरणमा न्यूनतम मापदण्डअनुसार पाँच वटा डायलासिस मेसिन सञ्चालनमा ल्याइनेछ। त्यसको लागि आवश्यक उपकरण जडान, प्राविधिक जनशक्ति व्यवस्थापन र सेवा सञ्चालनका अन्य तयारी समेत सँगसँगै भइरहेको छ।
हाल अर्घाखाँचीका मिर्गौलाका बिरामी नियमित डायलासिसका लागि बुटवल, काठमाडौँ लगायतका स्थानमा आउन बाध्य छन्। अस्पतालमै सेवा सञ्चालन भएपछि समय र खर्च दुवै बचत हुनुका साथै उपचारमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमार्फत अर्घाखाँची अस्पतालमा डायलासिस सेवा विस्तारको काम अघि बढाइएको हो। प्रदेश सरकारले जिल्ला स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने नीतिअनुसार यो सेवा सञ्चालन गर्न लागेको जनाएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको गृह जिल्ला समेत रहेको अर्घाखाँचीमा पछिल्ला वर्षहरूमा स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवाको विस्तारलाई प्राथमिकतामा राखिएको छ।