हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो एक घन्टामा सातै प्रदेशका विभिन्न भूभागमा वर्षा भएको छ।
पछिल्लो चौबीस घन्टामा कास्कीको याङ्जाकोटमा ९८.६ मिलिमिटर वर्षा भएको छ। रिवनमा ९७.६ मिलिमिटर, डोटीको कोलागाउँमा ९५.६ मिलिमिटर वर्षा भएको छ।
बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
दिउँसो नै देशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना छ।
राति मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भाग, साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भु-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थानमा राति भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।