कैलालीस्थित कर्णाली नदीमा सोमबार बिहान फेला परेको पुरुषको शव दैलेख गाडी दुर्घटनाका एक व्यक्तिको रहेको पुष्टि भएको छ ।
कैलालीस्थित कर्णाली नदी किनारमा फेला परेको शव कालीकोट पाचल झरना गाउँपालिका– ९ का ६२ वर्षीय मेखे तिरुवाको रहेको पुष्टि भएको कैलालीस्थित इलाका प्रहरी कार्यालय चिसापानी प्रमुख प्रहरी निरीक्षक मिरा खड्काले बताइन्।
मेखेका २५ वर्षीय छोरा रवीन्द्र मंगलबार कालीकोटबाट कैलाली आएर शव आफ्नो बुवाको रहेको भनेर सनाखत गरेका हुन्।
खड्काका अनुसार मेखे तिरुवाको शव पोस्टमर्टमका लागि बर्दगोदरियास्थित दोदोधारा नगर अस्पतालमा राखिएको छ।
प्रहरी निरीक्षक खड्काका अनुसार सोमबार बिहान ७ बजेतिर कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदी किनारमा एक जना पुरुषको शव फेला परेको थियो। त्यो शव प्रहरीले अस्पतालमा लगेर राखेको थियो ।
मेखेका छोरा रवीन्द्र तिरुवाले अस्पतालमा पुगेर मृतक आफ्नो बुवा भएको भनेर सनाखत गरेका हुन्। पोस्टमर्टमको प्रक्रिया पूरा भएपछि शव परिवारले बुझाइने प्रहरीले जनाएको छ।
सुर्खेतस्थित इलाका प्रहरी कार्यालय बाबिया चौरका प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र शाहीका अनुसार मेखे तिरुवाको शव फेला परेको स्थान सुर्खेतबाट अन्दाजी ६० किलोमिटर दक्षिणमा पर्छ। सुर्खेत र गाडी खसेको स्थान दैलेखको दुरी करिब १३६ किलोमिटर उत्तरमा पर्छ ।
गाडी दुर्घटना भएको स्थल दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ पाल्दाहादेखि तिरुवाको शव फेला परेको स्थल कैलालीस्थित मोहन्याल गाउँपालिका–६ सोल्टा करिब १९६ किलोमिटर दक्षिणमा पर्छ ।
कर्णाली नदीको तीव्र बेगका कारण करिब घटनास्थल भन्दा २०० किलोमिटर टाढा तिरुवाको शव फेला परेको हो ।
दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विश्वकर्माका अनुसार गाडी दुर्घटना भएकै दिन भीरमा अड्किएको अवस्थामा कालीकोटका पाचल झरना गाउँपालिका–९ कै ४५ वर्षीय जेखे तिरूवा मृत अवस्थामा फेला परेका थिए ।
पाचल झरना –९ का वडाध्यक्ष ललितजंग बहादुर शाहीका अनुसार गाडी दुर्घटनाका मृतक मेखे र जेखे तिरुवा साधु दाइ –साढु भाइ हुन्।
दैलेखका प्रमुख डिएसपी विश्वकर्माले गाडी दुर्घटनाका दुई जनाको शव फेला परे पनि अझै तीन जना फेला पर्न सकेका छैनन् ।
त्यो गाडी दुर्घटनामा परी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका – ८ माझीगाउँका अन्दाजी २८ वर्षीय तुलसीराम सुवेदी, सहचालक समेत रहेका उनका दाइ अन्दाजी ३१ वर्षीय रामप्रसाद सुवेदी र कालीकोटको रास्कोट नगरपालिका – २ खड्का गाउँकी अन्दाजी १८ वर्षीया सिर्जना खड्का अझै फेला पर्न सकेका छैनन् ।
सुरक्षा अंगका तीन वटै निकाय परिचालन गरी उनीहरुको खोजी कार्य निरन्तर रुपमा भइ रहेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरीका गोताखेरसहितको टोलीले खोजी कार्य जारी राखेको डिएसपी विश्वकर्माले बताए ।
असार १८ गते बिहानीपख सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ स्थित सडकबाट कर्णाली नदीमा खसेको थियो।
लम्कीचुहास्थित कर्णाली नदीमा भेटियो अर्को शव
कैलालीस्थित लम्कीचुहा नगरपालिका –३ चिसापानी नजिक गोराङ्गेस्थित कर्णाली नदीमा फेला परेको शव भने सुर्खेतको भेरीगंगा नगरपालिका – ८ की १५ वर्षीया स्नेहा सुनारको रहेको खुलेको छ।
सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी कबिन्द्र बोहराका अनुसार स्नेहा असार २० गते नदीमा आएको दाउरा टिप्न क्रममा भेरी नदीमा बगेर बेपत्ता भएकी थिइन्।
इप्रका चिसापानी प्रमुख प्रहरी निरीक्षक मिरा खड्काले सोमबार बेलुका नै अभिभावक घटनास्थल आइ शवको पहिचान गरेको बताइन्। उनीहरुले शव बुझेर लगि सकेको खड्काले जानकारी दिइन्।