कैलालीमा हिरासतबाट एक जना भागेपछि एक जना प्रहरी जवान निलम्बनमा परेका छन्।
असार ९ गते ब्राउन सुगरसहित पक्राउ परेका टीकापुर नगरपालिका – २ राजिपुरका ३१ वर्षीय संजय नगाती असार २१ गते मध्यराति प्रहरी हिरासतबाट भागेका थिए।
प्रहरी हिरासतबाटै नगाती भागेपछि त्यतिबेला ड्युटीमा रहेका प्रहरी जवान लली भण्डारी निलम्बनमा परेका छन् ।
असार २१ गते आइतबार मध्यराति नगातीले पानी मागेका थिए। पानी दिन च्यानेल गेट (ढोका) खोलेपछि नगाती भागेका थिए ।
‘त्यो ठाउँमा चार पाँच सय लिटका ड्रममा पानी भरि राख्ने गरिएको रहेछ,’ एक प्रहरी अधिकारीले भने ‘ मध्यराति थुनुवाले पानी मागेपछि ढोका खोल्दा ऊ भागेको रहेछ ।’
प्रहरी अधिकारी पानी दिने क्रममा भण्डारीले आवश्यक सावधानी नअपनाएको तथा उनीहरुका बीचमा मिलेमतो भएको हुन सक्ने आशंका गर्ने ठाउँ रहेको बताउँछन्।
‘ च्यानेल गेट बाटै पानीको बोत्तलमा पानी भरेर भित्र पुर्याउन मिल्ने ठाउँ रहेछ,’ ती प्रहरी अधिकारीले भने ‘ तर, प्रहरी जवान भण्डारीले त्यसो नगरी ढोका नै खोली दिने कमजोरी गरेको देखिन्छ ।’
घटना बारे थप अनुसन्धान भइ रहेको कैलाली प्रहरीले जनाएको छ।