जघन्य अपराधमा संलग्न भई जेल जीवन बिताइसकेपछि कुनै पनि व्यक्ति सुध्रिएर समाजमा फर्किने अपेक्षा गरिन्छ। तर, बुटवलमा विभिन्न अपराधका घटनामा हालै पक्राउ परेका युवाहरू भने यसअघि पनि विभिन्न अपराधमा संलग्न रही कारागारबाट सजाय भुक्तान गरेर रिहा भएकाहरू पाइएको छ।
इलाका प्रहरी कार्यालय बुटवलले छुरा प्रहार, मोटरसाइकल तथा सुनका गरगहना चोरी र लिखत कसुर अभियोगमा नौ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरू अधिकांश यसअघिपनि हत्या, चोरी, लागु औषध र सार्वजनिक अपराधका विभिन्न घटनामा संलग्न रहेको पाइएको हो।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगर बस्ने २९ वर्षीय सुमित गुरूङ लगायतका व्यक्तिहरू कारागारबाट रिहा भएको केही समयमै पुनः अर्को घटनामा पक्राउ परेका हुन्।
हत्या अभियोगमा आठ वर्षसम्म जेल सजाय काटेर बाहिरिएका सुमित तीन वर्षमै पुनः गम्भीर आपराधिक घटना आरोपमा पक्राउ परेका छन्।
सुमितले गत असार १७ गते बिहान सवा तीन बजेको समयमा बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकापथ स्थितमा द कन्सेप्ट क्लब अगाडि १८ वर्षीय गिरिजंग राना र २३ वर्षीय सुन्दर बगालेलाई घाँटीमा चक्कु र हेलमेट प्रहार गरी सख्त घाइते बनाएका थिए।
युवाहरूमाथि चक्कु प्रहार गरी फरार रहेका सुमितलाई प्रहरीले असार २० गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ बिजौरीमा लुकिछुपी बसेको अवस्थामा पक्राउ गरेको थियो।
सडकमा हिँड्ने क्रममा आफूसँगै रहेकी युवतीको जुत्ता कुल्चिएको विषयलाई लिएर युवाहरूमाथि छुरा प्रहार गरेको प्रहरी सामु बयान दिएका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले पक्राउ परेका सुमित आपराधिक प्रवृत्तिको रहेको र सामान्य विषयलाई लिएर चक्कु प्रहार गरेको बताए। प्रहरी उपरीक्षक शाहीका अनुसार सुमितले चक्कु साथमै लिएर गएका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार सुमितको आपराधिक इतिहास पुरानो छ। उनले २०७२ सालमा भएको एक हत्या प्रकरणमा ८ वर्ष जेल जीवन बिताएका थिए।
उक्त हत्याको घटनामा सुमित गुरूङसँगै विकास केसी, बाबुलाल सेङताङ तामाङ र दिपु गुरूङको पनि संलग्नता रहेको भन्दै प्रहरीमा उजुरी परेको थियो। मतिलाल रोकाले दिएको किटानी जाहेरीका आधारमा २०७२ साल असार ३१ गते इलाका प्रहरी कार्यालय बुटवलमा उनीहरू विरूद्ध मुद्दा दर्ता गरिएको थियो।
सोही घटनामा संलग्न रहेको देखिएपछि अदालतको आदेशले उनीहरूलाई २०७२ साल असार २१ गते कारागार चलान गरेको थियो। ८ वर्ष कैद सजाय भुक्तान गरी २०८० साल असोज महिनामा थुनामुक्त भएका उनी पुनः छुरा प्रहार जस्तो जघन्य अपराधमा संलग्न रहेको भन्दै पक्राउ परेका हुन्।
प्रहरी नायब उपरीक्षक श्रीवास्तवले घटनाको प्रकृति र अभियुक्तको विगतलाई मध्यनजर गर्दै अनुसन्धानलाई थप गम्भीरताका साथ अघि बढाइएको बताए।
‘सुमित गुरूङको पृष्ठभूमि गम्भीर छ। विगतमा हत्या अभियोगमा आठ वर्ष जेल सजाय काटेर आएका व्यक्तिबाट पुनः हिंसात्मक गतिविधि हुनुले सुरक्षा चुनौती थपेको छ। हामी यस घटनालाई संवेदनशील रूपमा लिएर अनुसन्धान गर्दै छौँ,’ श्रीवास्तवले भने।
चक्कु प्रहारबाट घाइते भएका युवाहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, भारतबाट चोरीका मोटरसाइकल नेपाल ल्याई नेपाली नम्बर प्लेट राख्ने र नक्कली सवारी दर्ता किताब तयार गरी बिभिन्न व्यक्तिलाई बिक्री गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले असार ७ गते बुटवलका विभिन्न स्थानबाट ६ वटा मोटरसाइकल, ३ वटा स्कुटर र एक/एक थस्न ल्यापटप र रंगित प्रिन्टर बरामद गरेको हो। त्यस्तै उनीहरूको साथबाट मोटरसाइकलका नक्कली ब्लुबुक र यातायात कार्यालयका छाप समेत बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा पाल्पाको तानसेन नगरपालिका वडा नं.८ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं.११ बस्ने २९ वर्षीय अशोक सारू र २७ वर्षीय विकास केसी, बुटवल उपमहानगरपालिका वडा नं.१५ बस्ने १९ बर्षीय सरोज उपाध्याय र बुटवलज १३ बस्ने ३६ वर्षीय महेन्द्र गुरूङ रहेका छन्।
प्रहरीका अनुसार महेन्द्र यसअघि लागुऔषध मुद्दामा २०६९ सालमा कारागार चलान भई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना भुक्तान गरी छुटेका हुन्।
त्यस्तै विकास केसी कर्तव्य ज्यान र सार्वजनिक अपराध मुद्दामा चार पटक पक्राउ परी ७ वर्ष कैद र अदालतबाट धरौटीमा रिहा भएका थिए।
त्यस्तै, प्रहरीले चोरी तथा लिखत सम्बन्धी कसुर मुद्दामा थप चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश गोरखपुर बस्ने ३२ वर्षीय राहुल जयसवाल, महाराजगंज बस्ने २२ वर्षीय प्रिन्स जयसवाल, बिहार प्रदेश बाल्मिकीनगर बस्ने २८ वर्षीय नितेश कुमार गुप्ता र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.५ बस्ने ३२ वर्षीय प्रदिप कान्दु बानियालाई सुनका गहना चोरी गर्ने र खरिद गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जयसवाल गुप्ताले चोरी गरेका सुनका गरगहना बानियाले खरिद गर्ने गरेको प्रहरीले जनाएको छ। बानिया यस अघि पनि विभिन्न चोरीका घटनामा संलग्न भई अदालतमा जरिवाना भुक्तान गरी रिहा भएका थिए।
पक्राउ परेका सबै उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।