अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
औषधि खरिदमा २ करोड ९१ लाख ३४ हजार ५ सय ४७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले ८ जनाविरूद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अस्पतालको फार्मेसी शाखाका इन्चार्ज, अधिकृत र स्टोर किपरहरूको मिलेमतोमा म्याद गुज्रेका औषधिहरू फिर्ता नगरी र सम्झौता अनुसार आपूर्तिकर्ता फर्मको धरौटी रकम कट्टा नगरी सरकारी सम्पत्ति हानिनोक्सानी गरेको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार अस्पतालका फार्मेसी अधिकृत दिपा ढुंगाना, सहायक लवेन्द्र कुँवर, दिनेश पन्त, दिपक सापकोटा रहेका छन्।
यसैगरी फार्मेसी युनिटका स्टोरकिपरहरू वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल, वरिष्ठ फार्मेसी सहायक शर्मीला श्रेष्ठ, फार्मेसी सहायक केशव राज न्यौपाने र फार्मेसी सहायक सन्दिप तिवारी विरूद्ध पनि मुद्दा दायर गरिएको हो।
अस्पतालको 'फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२' बमोजिम प्रत्येक आर्थिक वर्षको अन्त्यमा खरिद-बिक्री र बाँकी औषधिको सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स) तयार गर्नुपर्नेमा उनीहरूले सो नगरेको पाइएको अख्तियारको आरोप छ।
साथै, ४ महिना मात्र म्याद बाँकी भएका वा म्याद गुज्रिएका औषधिहरू आपूर्तिकर्ताबाट प्रतिस्थापन गराई सोधभर्ना लिनुपर्नेमा उनीहरूले सो जिम्मेवारी पूरा नगरी लापरबाही गरेको देखिने उनी बताउँछन्।
आपूर्तिकर्ता फर्महरूले धरौटी रकम फिर्ता माग गर्दा म्याद गुज्रेका औषधिहरू फिर्ता गर्न बाँकी हुँदाहुँदै फार्मेसीका जिम्मेवार पदाधिकारीहरूले बदनियतपूर्वक 'कुनै औषधि फिर्ता गर्न बाँकी छैन' भनी झूटो लिखित राय दिएका अख्तियारले जनाएको छ।
सोही पत्रका आधारमा नियमविपरीत धरौटी रकम फिर्ता गराई अस्पताललाई २ करोड ९१ लाख ३४ हजार ५ सय ४७ रुपैयाँ घाटा पुर्याएको अस्पतालकै मेडिकल डिभिजन प्रमुख नेतृत्वको समितिको प्रतिवेदनले पुष्टि गरेको न्यौपानेले जानकारी दिए।
त्यसैले उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) र (छ) बमोजिम कैद, र २ करोड ९१ लाख ३४ हजार ५४७ बिगो माग गरेको छ।