नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाइ दिएसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक कारागारबाट छुट्ने भएका छन्।
बुधबार केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट छुट्ने प्रक्रियामा रहेको जेलर कृष्ण चापागाईंले जानकारी दिए।
उनका अनुसार अहिले कारागारको प्रक्रिया सकेर अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट तारेखमा राख्ने प्रक्रिया भइरहेको हो।
‘अदालतले सफाइ दिएसँगै उहाँ छुट्दै हुनुहुन्छ। प्रक्रियागत काम भइरहेको छ,’ जेलर चापागाईंले भने।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १५ जनालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गरेको थियो।
प्रतिवादीहरू थापासहित रामशरण केसी, टंककुमार गुरूङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका हुन्।
बाँकी दोषी ठहर भएकाको हकमा इजलासले सजाय निर्धारणका लागि असार २९ गते पेसी तोकिएको छ।