नेपाल पुलिस स्कुल चितवनले एक विद्यार्थी एक विरूवा अभियान सुरूवात गरेको छ।
विद्यालय शिक्षामा वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सरसफाई र सामाजिकताका सम्बन्धमा विद्यार्थीहरूलाई ज्ञान र सचेतनाको लागि अनिवार्य वृक्षारोपण कार्याक्रम अन्तर्गत उक्त अभियान सञ्चालन गरेको हो।
सबैले आ-आफ्नो घरमा वृक्षारोपण गर्ने कार्यक्रम अन्तर्गत नेपाल पुलिस स्कुलले विभिन्न जातका विरूवा वितरण गरेको हो।
सुरक्षा, शिक्षा, अनुशासन र सामजिकता वातावरण संरक्षणमा नेपाल पुलिस स्कुलको सहभागीता भन्ने मुल उद्देश्यका साथ सुरू गरिएको कार्यक्रममा ८ सय भन्दा बढी विरूवा वितरण गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज निजिकै रहेको यस स्कुलले वातावरण संरक्षण, वन्यजन्तुको सुरक्षाका साथै स्थानीय पर्यटन सम्बन्धी विभिन्न तवरले विद्यार्थीहरूलाई सचेताना गर्दै आएको स्कुलका समादेशक रोशन थापाले जानकारी दिए।
अभियान अन्तर्गत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक कमल थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक एवम कर्मचारीहरूले विद्यार्थीहरूलाई विभिन्न प्रजातिका विरूवा वितरण गरेका थिए।
यसरी वितरण गरिएको विरूवाको संरक्षण, हेरचाह लगायतका विषयमा शिक्षकहरूबाट विद्यार्थीहरूलाई ज्ञान सिप प्रदान गर्ने एवम आ-आफ्नो घरमा रोपिएको विरूवाको अवस्थाको सम्बन्धमा समेत शिक्षकबाट नियमित अनुगमन समेत गर्ने तयारी छ।